काठमाडौं – तीनकुनेको दिव्य काठ मिलभित्र चार जनाको हत्या गरेको आरोप लागेका सञ्जय भण्डारीविरूद्ध जिल्ला सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाइएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंले भण्डारीविरूद्ध जन्मकैदको मागसहित सरकारी वकिल कार्यालयमा मंगलबार रायसहितको प्रतिवेदन बुझाएको हो।
उनीसँग सर्वस्वसहित जन्मकैदको सजाय माग गरिएको परिसर प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले बताए।
प्रहरी प्रतिवेदनका आधारमा सरकारी वकिलले भण्डारीविरूद्ध अदालतमा मुद्दा पेश गर्ने तयारी गरिरहेको छ।
गत भदौ २९ गते मिलभित्र चार जनाको खुकुरी प्रहार गरी हत्या गरेको आरोप भण्डारीमाथि लागेको थियो। भण्डारी बोल्न सक्दैनन्।
तर, उनले अन्य केही ठाउँ पनि हत्या गरेको भन्दै प्रहरीलाई हैरान पारेका थिए। तर, त्यसबारे तथ्यहरू नखुलेको ढुंगेलले बताए।
हत्याको दुई दिनपछि प्रहरीले भण्डारीलाई पक्राउ गरेको थियो। मिलभित्र छिरेका भण्डारीले विशाल राईसहित चार जनाको हत्या गरेका थिए।
भण्डारी बाह्रबिसे नगरपालिका-९ का का हुन्। २३ वर्षीय भण्डारी भदौ ३१ गते बाह्रबिसे जाने क्रममा पक्राउ परेका थिए।
मोरङ बेलबारीका नवीन भनिने विशाल राईले चलाएको मोटरसाइकलले भण्डारीलाई चाबहिलमा ठक्कर दिएको थियो।
त्यसबेला राईले भण्डारीलाई कुटपिट गरेका थिए। त्यसैको रिसिइबी साँध्न भण्डारी काठमिलमा राईलाई खोज्दै पुगेको देखिएको छ।
सुरूमा राई बस्ने ठाउँ खोज्दै भण्डारी काठ मिलमा पुगेको देखिएको थियो। ‘भेट्छु निहुँ खोजे छप्काइदिन्छु’ भनी दिदी-भिनाजुको बसेको काँडाघारीस्थित डेराबाट उनी खुकुरी लिएर निस्केका थिए।
मिलको पछाडिपट्टीको बन्द गेटबाट माथि चढेर उनी भित्र छिरेका थिए।
‘उनी भित्र छिरेर सोफामा बसे,’ परिसर प्रवक्ता प्रहरी उपरीक्षक कुमोध ढुंगेलले भने, ‘किन बसेको भन्दै विशालले कुटपिट गरेपछि रिस थाम्न नसकेर टाउकोमा खुकुरी प्रहार गरी हत्या गरे।’
विशालको हत्या गर्ने क्रममा बुढी आमा शुभद्रा भुजेलले देखिन्। भण्डारीले उनलाई पनि टाउकोमा खुकुरी प्रहार गरे।
त्यसपछि पूर्णबहादुर भुजेल (कुमार)ले देखे। उनलाई पनि प्रहार गरे। क्रमश: उनकी श्रीमती अम्बिकाले देखिन्। उनलाई पनि टाउकोमा नै प्रहार गरे।
त्यसपछि भण्डारीले पूर्णबहादुरको लाशलाई छिसार्दै टहराको कुनामा रहेको ट्वाइलेटको ढोका छेउमा फाले। अम्बिकाको लाशलाई पानीको कल छेउमा लगेर फाले। शुभद्राको शव काठको गोदाम छेउमा लगेर फाले।
‘तत्काल उनले विशाललाई रिसिइबीको कारण हत्या गरेको भए पनि अन्य तीन जनालाई सो घटना बाहिर आउँछ भनी हत्या गरेको खुल्यो,’ ढुंगेलले भने।
चारै जनाको हतयापछि मिलको मुख्य गेटमा ड्याङड्याङ आवाज आएको र बत्तीको लाइट देखिएपछि पछाडिपट्टीको गेटबाटै हामफालेर कोटेश्वर चोक हुँदै काँडाघारी वीरेन्द्र चोकमा पुगेर दिदी-भिनाजुको कोठामा गएर सुतेको पाइएको थियो।
भोलिपल्शट निबार बिहान उठेर उनी आफू पढेको नक्सालस्थित स्कुलमा गएर साथीभाइ भेटी घर आएर सुतेको खुलेको छ।
आइतबार बिहान उठेर खान खाएपछि सिन्धुपाल्चोक घर जाने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको थियो। उनको झोलामा हत्या गर्दा प्रयोग गरेको खुकुरी बरामद भएको थियो।
उनले प्रहरीले पक्राउ गरेपछि ‘आई किल्ड फोर पिपल’ लेखेका थिए। भण्डारीले सांकेतिक भाषामा कक्षा १२ पास गरेको बताएका छन्।


