काठमाडौँ- सरकारले माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि मधेश प्रदेशका मिटरब्याज पीडितका फर्किएपछि नवलपरासी सुस्तालगायतका क्षेत्रका मिटर ब्याज पीडितहरू काठमाडौँ आएका छन्। मधेशका मिटरब्याज पीडितले १६ दिनसम्मको धर्ना दिएर माग पूरा गर्ने प्रतिबद्धता गरे पनि आफूहरू नसमेटिएको भन्दै उनीहरू काठमाडौँ आएका हुन्।
यसअघि पनि उनीहरू काठमाडौँ आएका थिए। तर सरकारले वार्ता गरी समस्या समाधान गर्ने प्रतिबद्धता गरेको थियो। तर हालसम्म पनि समस्या समाधान नभएको भन्दै उनीहरू धर्नाका लागि काठमाडौँ आएका हुन्।
मिटर ब्याज तथा ठगीविरुद्ध किसान–मजदुर सङ्घर्ष समितिको अगुवाइमा आएका पीडितहरूले कानुनले तोके बमोजिमको व्याज बाहेकको सबै रकम क्षतिपूर्तिसहित फिर्ता गर्नुपर्ने बताउँदै आएका छन्। केही मिटरब्याज पीडितले सावाको थुप्रै गुणा बढी रकमसमेत तिरिसकेपनि उनीहरूको ऋण चुक्ता नभएको भन्दै सुदखोरहरूले सास्ती दिने गरेको बताएका छन्।
कैलाली, बाँके, दाङ, रुपन्देही, नवलपरासी, झापा, सुनसरी, तनहुँ, कास्की, उदयपुर र मधेसका ८ जिल्लाका करिब ४५० जना पीडित न्यायको लागि संघीय राजधानी आएको किसान-मजदुर संघर्ष समितिले जानकारी दिएको छ। त्रिपुरेश्वरमा भेला भई माइतीघर पुगेका पीडितले सिंहदरबारको मुख्य प्रवेशद्वार अघि भद्रकालीमा बसेर नारा लगाएका छन्।
यसअघि नै सरकारले मिटरब्याजपीडितका समस्या समाधान गर्न आयोग गठन गर्ने प्रतिबद्धता गरिसकेको छ।










