काठमाडौँ- सत्तारूढ गठबन्धनले कोशी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का इन्द्र आङ्बोलाई अघि सार्ने भएको छ।
बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलको बैठकले आङ्बोलाई अघि सार्न सहमत भएको हो।
नेपाली कांग्रेस पनि आङ्बोलाई मुख्यमन्त्री बनाउन सहमत भएपछि गठबन्धनका तर्फबाट आङ्बोले मुख्यमन्त्री दाबी गर्न लागेका हुन्।
उनले गठबन्धनका प्रदेश संसदीय दलहरूसँग कुराकानी थालिसकेका छन्।
नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गठबन्धनका तर्फबाट माओवादी उम्मेदवारलाई मुख्यमन्त्री बनाउन आफूहरू तयार रहेको बताए।
कोशीमा प्रदेश प्रमुख परशुराम खापुङले संविधानको धारा १६८ को ५ अनुसार मुख्यमन्त्रीमा दाबी गर्न शुक्रबार साँझ ५ बजेसम्मको समय दिएका छन्।
उक्त समयभित्र मुख्यमन्त्री बन्न पुग्ने आधार कुनै पनि प्रदेशसभा सदस्यले गर्न नसकेमा वा त्यसरी नियुक्त मुख्यमन्त्रीले विश्वासको मत कायम राख्न नसकेमा कोशीको राजनीति चुनावतर्फ मोडिनेछ।


