काठमाडौँ– मुस्लिम आयोगले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ।
राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित एक कार्यक्रमका बीच आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले प्रतिवेदन बुझाएका हुन्।
आयोगको प्रतिवेदन बुझ्दै राष्ट्रपति पौडेलले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक मुलुक भएकाले सबै जाति, भाषा, संस्कृति र समुदायका बीचमा सहअस्तित्वका आधारमा आपसी सदभाव कायम राख्न आयोगको भूमिका महत्वपूर्ण हुने बताए।
आयोगको मुस्लिम समुदायको हक अधिकार संरक्षणमा गहन र महत्वपूर्ण दायित्व रहेको पनि राष्ट्रपति पौडेलले स्पष्ट पारे।
उनले आयोगले आफ्नो संवैधानिक र कानुनी दायित्व पूरा गर्ने सन्दर्भमा आफूले गरेका काम र क्रियाकलापहरु समेटेर जुन प्रतिवेदन पेश गरेको छ, यसमा उठाइएका महत्वपूर्ण विषयहरुलाई नेपाल सरकारले प्रभावकारी रुपमा सम्बोधन गर्नेछ भन्ने विश्वास व्यक्त गरे।
प्रतिवेदन बुझाउँदै आयोगका अध्यक्ष समिम मियाँ अन्सारीले आयोगले गरेका काम कार्वाहीको बारेमा संक्षिप्त जानकारी गराए। उनले मुस्लिम समुदायको हक अधिकारको संरक्षणलाई प्राथमिकता दिएर आयोगले काम गरिरहेको बताए।


