काठमाडौं – दसैंमा घर जाने नेपाली सेनाका बहालवाला सबै दर्जाका सैनिक र उनीहरूका परिवारलाई हवाई र यातायात सुविधाको प्रबन्ध गरिएको छ।
सैनिक जनसम्पर्क तथा निर्देशनालयका अनुसार असोज २१ देखि सुरू गरिएको यो प्रबन्ध कात्तिक २ गते बिहीबारसम्म जारी रहने छ।
असोज ३० गते मंगलबारसम्म बसमार्फत ४२१ जना र हवाई उडानमार्फत् ६०५ जना घर पुगिसकेको सैनिक प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले बताए।
सेनाको कल्याणकारी योजना अन्तर्गत हरेक वर्ष दसैं मनाउन घर जानेहरूका लागि यो सुविधा नि:शुल्क उपलब्ध गराइने गरिएको उनले बताए।
दुर्गम क्षेत्रका सैनिकहरूलाई हवाई यातायातको व्यवस्था गरिएको छ। धनगढी, सुर्खेत, नेपालगञ्ज, जुम्ला, झापासम्म हवाई यातायातको व्यवस्था गरिएको छ।
त्यसबाहेक सडक पुगेका ठाउँमा जाने सैनिकहरूका लागि गाडीको व्यवस्था गरिएको भण्डारीले बताए।

‘सडक सञ्जाल पुगेका ठाउँमा बसमार्फत् पठाइने गरिएको छ,’ भण्डारीले भने, ‘दुर्गम, हिमाली र पहाडी क्षेत्रहरूजस्ता लामो दुरीका गन्तव्यमा हवाई उडानमार्फत् पठाइने गरिएको छ।’
दसैंमा घर जाने सैनिकहरू सीमित मात्रामा हुन्छन्। सबैको बिदा नमिल्ने गरेकाले निकै कम संख्यामा मात्रै घर जाने गरेका छन्। बिदा नपाउनेहरूले आफू कार्यरत् ठाउँमै दसैं मनाउने गरेको भण्डारीले बताए।


