काठमाडौँ- उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्य अवस्थाबारे ‘पेकिंग युनियन मेडिकल कलेज अस्पताल, बेइजिङ’ले बिहीबार दिउँसो ‘मेडिकल सर्टिफिकेट’ जारी गरेको छ।
श्रेष्ठलाई ‘एक्युट मायोकार्डियल इन्फेक्सन’ भएकाले आकस्मिक कोरोनरी एन्जियोग्राफी गरिएको छ। उनको मुटुको बायाँ धमनीमा ‘स्टेनोसिस’ देखिएको र त्यसलाई कम गर्न तुरुन्तै ‘स्टेन्ट’ राखिएको समेत अस्पतालले जानकारी दिएको छ।
श्रेष्ठ अहिले निरन्तर निगरानी र उपचारका लागि मेडिकल आईसीयूमा छन्।
‘तेस्रो बेल्ट एन्ड रोड फोरम फर इन्टरनेशनल कोअपरेसन (बीआरएफ)’मा सहभागी हुन चीनको बेइजिङ पुगेका उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई गएराति १ बजे हृदयघात भएको थियो।
चिनियाँ सरकार र पार्टीका उच्च अधिकारीहरूले उच्चतम प्रविधि अपनाउन र उनको उपचारमा कुनै कमी हुन नदिन अस्पताल प्रशासनलाई निर्देशन दिएका छन्।


