काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को परराष्ट्र सल्लाहकारमा डा रुपक सापकोटा नियुक्त भएका छन्।
बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सापकोटालाई सल्लाहकारमा नियुक्त गरेको हो।
डा सापकोटा हाल त्रिभुवन विश्वविद्यालयमा अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विषय प्राध्यापन गर्छन्।
यसअघि डा सापकोटाले परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको उपकार्यकारी निर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन्।
डा सापकोटा विश्व राजनीति, अन्तर्राष्ट्रिय सम्बन्ध, भू–राजनीति, विदेश नीति, राष्ट्रिय सुरक्षा एवं रणनीतिक मामिलाका जानकार मानिन्छन्।
उनले सन् २०१८ मा चीनको राजधानी बेइजिङस्थित रेनमिन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय सम्बन्ध विषयमा विद्यावारिधि गरेका छन्।
हालै, प्रधानमन्त्री प्रचण्डको चीनको औपचारिक भ्रमणको उच्चस्तरीय प्रतिनिधिमण्डलमा डा सापकोटालाई परराष्ट्रविदका रुपमा सामेल गराइएको थियो।


