काठमाडौँ- संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटरेसले नेपालको संसदमा सम्बोधन गर्ने भएका छन्। उनले कात्तिक १४ गते नेपालको संसदमा सम्बोधन गर्ने भएका हुन्।
नेपालको संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई उनले सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले कार्तिक २ गते नै यसका लागि व्यवस्था गर्न संघीय संसद सचिवालयलाई पत्राचार गरिसकेको छ। महासचिव गुटरेसले कार्तिक १४ गते अपरान्ह ४ बजे सम्बोधन गर्ने जानकारी दिइएको छ।
गत कात्तिक २ गते बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले महासचिव गुटरेसको भ्रमणको कार्यतालिका स्वीकृत गरिसकेको छ। गुटरेस कार्तिक १२ गतेदेखि १५ गतेसम्म नेपालमा रहनेछन्।
प्रधानमन्त्री कार्यालयले पठाएको प्रत्र प्राप्त भएको र त्यसैअनुसार काम अघि बढाइएको संघीय संसद सचिवालयले जानकारी दिएको छ।
महासचिव गुटरेसले सम्बोधन गर्ने सो बैठकमा संवैधानिक निकायका प्रमुखहरू, नेपालस्थित कुटनीतिक नियोगका प्रमुखहरुलगायतका विशिष्ट सरकारी अधिकारीहरुलाई आमन्त्रण गर्ने तयारी संसदले गरेको छ।
महासचिव गुटरेसलाई प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्र संघको ७८औं महासभा बैठकमा भाग लिने क्रममा नेपाल भ्रमणको निमन्त्रणा गरेका थिए। पोर्चुगलका पूर्वप्रधानमन्त्री गुटरेसको संयुक्त राष्ट्र संघको महासचिवको रुपमा दोस्रो कार्यकाल हो।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेज नेपाल भ्रमणमा आउने भएपछि परराष्ट्रमन्त्री एनपी साउदको अमेरिका भ्रमण धकेलिएको छ।
गुटरेससँग भेटेपछि मात्र साउद अमेरिका जानेगरी भ्रमणको नयाँ कार्यतालिका बनिरहेको उनको सचिवालयले जनाएको छ।
गुटरेज यसअघि असोज २६ मा नेपाल आउने कार्यक्रम थियो। तर उक्त भ्रमण तालिका रद्द भएको थियो।
इजरायलमा हमास विद्रोहीले आक्रमण गरेपछि इजरायल र प्यालेस्टाइनबीच शुरु भएको तनावका कारण गुटरेसको नेपाल भ्रमण स्थगित भएको परराष्ट्र मन्त्रालयले जनाएको थियो।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले छिट्टै नेपाल भ्रमण गर्ने बताएका थिए। अमेरिका र चीनको १५ दिने भ्रमणपछि नेपाल फर्केका प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्।
संयुक्त राष्ट्रसंघ पछि लगत्तै चीन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाल फर्केपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकार सम्मेलन गरी दाहालले आफूले महाचसिवलाई नेपाल भ्रमणको निम्तो दिएको बताएका थिए।


