काठमाडौं – बारास्थित बोर्डिङ स्कुलका प्रिन्सिपल रुपेश स्वर्णकारको हत्या आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
स्वर्णकारको हत्या आरोपमा तीन जना नेपाली र तीन भारतीयलाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले बताए। पक्राउ परेकाको विवरण प्रहरीले उपलब्ध गराएको छैन।
उनीहरूलाई मंगलबार प्रहरीले सार्वजनिक गर्न लागेको छ। ‘विस्तृत विवरण हामी पत्रकार सम्मेलन गरी जानकारी गराउँछौं,’ न्यौपानेले भने।
कलैया उपमहानगरपालिका-६ एकता बोर्डिङ स्कुलका प्रिन्सिपल स्वर्णकारको सोमबार दिउँसो गोली हानी हत्या भएको थियो।
प्रिन्सिपल स्वर्णकारलाई सोमबार दिउँसो दुई वटा मोटरसाइकलमा सवार चार जनाको टोलीले गोली हानेको थियो। उनको शरीरमा चार वटा गोली लागेको थियो।
स्वर्णकारलाई गोली हान्नुको कारण पत्ता लागेको छैन। उन २०६८ सालयता बोर्डिङ स्कुल सञ्चालन गर्दै आएका थिए।
दिउँसो पौने १ बजे मोटरसाइकलमा घरतर्फ गइरहेका बेला उनीमाथि गोली हानिएको थियो। उनको उपचारको क्रममा मृत्यु भएको थियो।
उनको घर र बोर्डिङ नजिकै छ। उनको हत्यामा पेशेवर सुटर प्रयोग भएको आशंका छ।


