काठमाडौँ- नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले मंगलबार दिउँसो संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्ने भएका छन्।
महासचिव गुटरेसलले राष्ट्रिय र प्रतिनिधि सभाको संयुक्त बैठकलाई अपराह्न ४ बजे सम्बोधन गर्ने कार्यक्रम रहेको संसद सचिवालयले जनाएको छ।
बैठक प्रारम्भ भएसँगै संयुक्त राष्ट्रसंघका महासचिव गुटरेसले सम्बोधन गर्ने कार्यसूचि रहेको छ भने उनको सम्बोधन लगत्तै सोही बैठकले महासचिव गुटरेसलाई धन्यवाद ज्ञापन प्रस्ताव पारित गर्ने सचिवालयले जनाएको छ।
यसैबीच आफ्नो भ्रमणको क्रममा सोमबार पोखरा पुगेका गुटरेस मंगलबार बिहान अन्नपूर्ण आधार शिवर पुगेका छन्।
पदयात्राका लागि विश्वमा नै चासो र चर्चा हुने र निकै राम्रो गन्तव्य बनेको अन्नपूर्ण आधार शिविरमा उनी नेपाली सेनाको हेलिकोप्टरमार्फत गएका हुन्।
अन्नपूर्ण आधार शिविरमा पुगी उनले जलवायु परिवर्तनले हिमालय क्षेत्रमा परेका असर, हिमालको अवस्थालगायतका विषयमा स्थानीयसँग संवाद र सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
त्यसपछि उनी काठमाडौं फर्कने र अपराह्न ४ बजे संघीय संसदका दुवै बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको छ।
महासचिव गुटरेस नेपालको संसदलाई सम्बोधन गर्ने पहिलो राष्ट्रसंघीय प्रतिनिधि हुनेछन्।
यसअघि नेपाल भ्रमणमा आएका राष्ट्रसंघका तत्कालिन महासचिव वान की मूनले संसदको ल्होत्से हलमा सांसदहरुको भेलालाई सम्बोधन गरेका थिए।
त्यतिवेला संसदको ऐन र नियमावलीमा त्यसरी सम्बोधन गर्ने व्यवस्था नभएकाले ल्होत्से हलमा सांसदहरुको भेलालाई सम्बोधन गर्ने प्रबन्ध मिलाइएको प्रतिनिधि सभाका प्रवक्ता (सहसचिव) एकराम गिरीले जानकारी दिए।
संविधानसभाले संविधान बनाएर घोषणा गरेपछि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संघीय संसदको संयुक्त बैठकमा सम्बोधन गरेका थिए।
२०५० सालतिर भारतका तत्कालिन प्रधानमन्त्री इन्द्रकुमार गुजराल नेपाल भ्रमणमा आएका बेला पनि उनले संसदलाई सम्बोधन गर्ने विषयमा छलफल भएको थियो।
तर संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभा नियमावलीमा त्यस किसिमको व्यवस्था नभएकाले नियम संशोधन गरेर भएपनि सम्बोधनको प्रबन्ध मिलाउने सल्लाह भएको सम्झन्छन् संसदका तत्कालीन महासचिव सूर्यकिरण गुरुङ्ग। तर गुजरालले सम्बोधन गरेका थिएनन्।
उच्च तहका व्यक्तित्वहरु आफ्नो देशको औपचारिक भ्रमणमा आएका बेला सम्मानार्थ संसदलाई सम्बोधन गर्ने अन्तर्राष्ट्रिय प्रचलन छ।
सन् १९५५ मा राष्ट्रसङ्घको सदस्य बनेको नेपालमा हालसम्म ६ जना महासचिवले भ्रमण गरेका छन्।
सन् १९५९ को मार्चमा महासचिव ड्याग ह्यामरशोल्ड, सन् १९६७ को एप्रिलमा महासचिव ऊ थान्त, सन् १९८१ को फेब्रुअरीमा कुर्त वाल्दहाइमले नेपाल भ्रमण गरेका थिए।
सन् १९८९ को मार्चमा महासचिव हाभियर पेरेज द कोयार, सन् २००१ को मार्चमा महासचिव कोफी अन्नान र सन् २००८ को अक्टोबरमा महासचिव बान कि मुन नेपाल आएका थिए।
राष्ट्रसङ्घका प्रथम महासचिव ट्रिग्वे ली र महासचिव बुत्रोस बुत्रोस घालीले नेपाल भ्रमण गरेनन्।
हाल नेपालमा रहेका गुटरेस सन् १९४९ अप्रिल ३० का दिन युरोपेली राष्ट्र पोर्चुगलमा जन्मिएका थिए। उनको पूरा नाम एन्टोनियो म्यानुअल डे ओलिभेरा गुटरेस हो। उनी पोर्चुगलका पूर्वप्रधानमन्त्री हुन्।
बान की मुनको दोस्रो कार्यकाल ३१ डिसेम्बर २०१६ मा समाप्त भएपछि गुटेरेस संयुक्त राष्ट्रसंघको महासचिव भएका थिए। उनले सन् २०१७ बाट राष्ट्रसंघको महासचिवको जिम्मेवारी सम्हालेका हुन्। उनी संयुक्त राष्ट्रसंघको नवौँ महासचिव हुन्।
पोर्चुगिज सोसियलिस्ट पार्टीको सदस्य गुटरेस सन् १९९५ देखि २००२ सम्म पोर्चुगलको प्रधानमन्त्री रहेका थिए। सन् १९९२ देखि २००२ सम्म सोसियलिस्ट पार्टीको महासचिवको रूपमा गरेका थिए।
सन् २००१ मा पोर्चुगलको स्थानीय निर्वाचनमा उनको पार्टी पराजित भएपछि सन् २००२ मा प्रधानमन्त्रीबाट राजीनामा दिएका थिए।
गुटेरेस सन् १९९९ देखि २००५ सम्म सोसियलिस्ट इन्टरनेसनलको अध्यक्ष रहेका थिए। उनले सन् २००५ देखि २०१५ सम्म शरणार्थीसम्बन्धी संयुक्त राष्ट्रसंघको उच्च आयुक्तको रूपमा काम गरेका थिए।
गुटरेस सन् २०१६ अक्टोबरमा संयुक्त राष्ट्रसंघको महासचिवमा निर्वाचित भएका थिए।


