काठमाडौँ- नेपालको पश्चिमी क्षेत्रमा भएको भूकम्पबाट भएको क्षतिप्रति रुस, अमेरिका, चीन र भारतले दु:ख व्यक्त गरेका छन्। शनिबार विभिन्न माध्यमबाट सम्बन्धित देशका आधिकारिक निकायले दु:ख व्यक्त गरेका हुन्।
रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले नेपाली समकक्षी राष्ट्रपति रामचन्द्र पौडेललाई शनिबार पत्र पठाउँदै दु:ख व्यक्त गरेका छन्। प्राकृतिक विपत्तिको यस दुखद् घटनाबाट पीडित नेपालीप्रति पुटिनले गहिरो समवेदना प्रकट गरेको राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए।
राष्ट्रपति पुटिनले भूकम्पबाट पीडितहरुका आफन्त तथा शुभेच्छुक नेपाली जनताप्रति आफ्नो साथ, सहयोग र सहानुभूति रहेको उल्लेख गर्दै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्।
यसअघि शनिबार बिहान भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भूकम्पबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएका व्यक्तिका परिवारमा समवेदना प्रकट गरेका थिए। उनले आवश्यक सहयोग गर्न भारत सरकार तयार रहेको बताएका छन्।
Deeply saddened by loss of lives and damage due to the earthquake in Nepal. India stands in solidarity with the people of Nepal and is ready to extend all possible assistance. Our thoughts are with the bereaved families and we wish the injured a quick recovery. @cmprachanda
— Narendra Modi (@narendramodi) November 4, 2023
‘नेपालमा गएको भूकम्पबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख लागेको छ। नेपाली जनतालाई सम्भव भएसम्म सबै सहयोग गर्न भारत तयार छ,’ भारतीय प्रधानमन्त्री मोदीले नेपाली समकक्षी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मेन्सन गर्दै एक्समा लेखेका छन्, ‘हामी शोकसन्तप्त परिवारसँगै छौँ र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौँ।’
काठमाडौँस्थित संयुुक्त राज्य अमेरिकी दूतावासले भूकम्पबाट भएको क्षतिप्रति दुःख व्यक्त गरेको थियो। यसका लागि नेपाललाई आवश्यक सहयोग गर्न अमेरिका तत्पर रहेको दूतावासको भनाइ थियो।
नेपालका लागि चीनका राजदूत चेन सोङले भूकम्पको क्षतिप्रति दुख व्यक्त गर्दै पीडितको राहत तथा उद्धारका लागि सहयोगको घोषणा गरेका छन्। शनिबार साँझ एक्समा लेख्दै उनले आकस्मिक प्रतिकार्यका लागि नेपाली रुपैयाँ १० करोड बराबरका सामग्री प्रदान गर्ने घोषणा गरेका छन्। यसमा टेन्ट र ब्ल्याङ्केट रहने दूतावासको भनाइ छ। यी सामग्री दुईदिनभित्रै नेपालमा आइपुग्ने उनले जानकारी दिएका छन्।
As the first emergency response, China will provide materials worth 100 million NPRs to the earthquake-stricken area, including tents, blankets from #China_South_Asian_Countries_Emergency_Supplies_Reserve. All this material will arrive in couple of days. More aids are on the… pic.twitter.com/o8RRMLfUnh
— Ambassador Chen Song (@PRCAmbNepal) November 4, 2023
जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दू भएर शुक्रबार राति ११ः४७ बजे गएको ६.४ म्याग्निच्युडको भूकम्प गएको थियो।
भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा गरी हालसम्म १ सय ५७ जनाको मृत्यु भएको छ। भूकम्पबाट हालसम्म दुवै जिल्लामा गरी एक सय ९७ जना घाइते भएका छन्।
सशस्त्र प्रहरी बल केन्द्रीय कार्यालयका प्रहरी नायव उपरीक्षक शैलेन्द्र थापाका अनुसार भूकम्पका कारण जाजरकोटमा एक सय ५ जनाको तथा रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।
यसैगरी भूकम्पबाट जाजरकोटमा एक सय ५, रुकुम पश्चिममा ८५, दैलेख र बैतडीमा तीन-तीन तथा रोल्पामा एक जना घाइते भएका छन्। घाइतेलाई उपचारका लागि नेपाली सेनाको हेलिकप्टरबाट नेपालगञ्ज, काठमाडौं तथा अन्य ठाउँमा ल्याउने क्रम जारी छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल भूकम्प प्रभावितको उद्धार तथा राहतमा जुटेको छ।
प्रभावित क्षेत्रमा यसका लागि एक हजार पाँच सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ। भूकम्प प्रभावित क्षेत्रमा नेपाली सेनाले उद्धार तथा राहतका लागि पाँचवटा हेलिकप्टर तथा जहाजको प्रयोग गरिएको नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए। भूकम्पबाट जाजरकोट र रुकुम पश्चिममा ठूलो धनजनको क्षति भएको छ।


