काठमाडौँ- दूरसञ्चार सेवा प्रदायक एनसेलले भूकम्प पीडित राहत कोषमा ५० लाख सहयोग गर्ने भएको छ।
कर्णाली प्रदेशको राहतकोषमा सो रकम जम्मा गर्ने निर्णय गरिएको एनसेलका कानुनी तथा नियामक निकाय प्रमुख विशाल उपाध्यायले जानकारी दिए।
त्यस्तै एनसेले भूकम्प प्रभावित क्षेत्रमा ४० लाख बराबरको भ्वाइस र डाटा निःशुल्क गर्ने निर्णय गरेको पनि जानकारी दिएको छ। भूकम्प प्रभावित जाजरकोट, रुकुम पश्चिम र रुकुम पूर्वमा यो सेवा निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ।
यसरी पाइने सेवामा देशका अरू नेटवर्क र विदेशमा समेत कल गर्न सकिने एनसेलले जानकारी गराएको छ।
यसअघि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले भूकम्प प्रभावित क्षेत्रमा आवश्यक सहयोग गर्न र सेवा सुरु गर्न निजी क्षेत्रका सेवा प्रदायकहरुलाई आग्रह गरेको थियो।


