२०८३ कार्तिक १२ गते बुधबार

भूकम्पपीडितको उद्धारमा प्रधानमन्त्रीको अठार घण्टा

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, कार्तिक १८
prachand-with-jajarkot-bhukumpa-ghaite-1024×731

काठमाडौं- शुक्रबार मध्यरात सम्पूर्ण नेपाली निद्रामा थिए। विपत्तिका सामु कसैको केही लागेन। एकाएक धर्ती हल्लियो। निद्रामा रहेका मानिस ब्यूँझिए। कुकुर भुके, बास बसेका चराको चित्कार सुनियो। काठमाडौँ उपत्यकासहित देशभर नै धक्का महसुस भयो।

समय थियो शुक्रबार राति ११ बजेर ४७ मिनेट। जाजरकोटको रामिडाँडालाई केन्द्रबिन्दु बनाएर छ दशमलव चार म्याग्निच्युडको भूकम्पले विशेषगरी छिमेकी रुकुम पश्चिमलाई नराम्ररी हल्लाइदियो।

विसं २०७२ वैशाख १२ गतेको जस्तै धक्का पश्चिम नेपालका दुई पहाडी जिल्लाले यसपटक व्योहोर्नुपरेको छ।

भूकम्पको धक्का काठमाडौँ उपत्यका र भारतको राजधानी नयाँ दिल्लीसम्म महसुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। हालसम्म सो भूकम्पमा परी एक सय ५७ जनाको मृत्यु भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ। हालसम्म जाजरकोटमा एक सय पाँच जना र रुकुम पश्चिममा ५२ जनाको मृत्यु भएको छ।

जाजरकोट र रुकुम पश्चिमका धेरै गाउँ भूकम्पबाट थिलथिलो भएको छ। अधिकांश मानिस खुला स्थानमा रात कटाउन बाध्य भएका छन्। राहत र उद्धारको काम चलिरहेको छ। पहिलो चरणमा सरकारले भूकम्प प्रभावितको सकुशल उद्धारमा ध्यान केन्द्रित गरेको छ। करिब–करिब उद्धारको काम पूरा भएको स्थानीय प्रशासनले जनाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले आज रातिदेखि नै प्रभावितको उद्धारमा प्रभावकारीरूपमा खटिन निर्देशन दिए अनुसार काम भएको बताइएको छ।

प्रधानमन्त्रीका प्रेस संयोजक सूर्यकिरण शर्माका अनुसार प्रधानमन्त्री दाहालले शनिबार बिहान १ बजेभित्रै जाजरकोट र रुकुम पश्चिमको अवस्थाका बारेमा जानकारी लिएका थिए। भूकम्प गएको थाहा पाउनेबित्तिकै तत्काल उद्धार र राहतमा खटिन उनले मातहतका निकाय, सुरक्षाकर्मीलाई निर्देशन दिएका थिए। प्रधानमन्त्री आज झण्डै १८ घण्टा जाजरकोट र रुकुम पश्चिमलाई नै केन्द्रमा राखेर खटिएका थिए।

आफैँले विवरण लिएपछि प्रधानमन्त्रीले आज बिहान ३ बजे नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी तथा आवश्यक प्राविधिकसँग उद्धारका बारेमा छलफल गरी आवश्यक निर्देशन दिएका थिए।

आवश्यक तयारीलगत्तै बिहान ६ बजे ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, पूर्वअर्थमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का नेता जनार्दन शर्मा र जाजरकोटबाट कर्णाली प्रदेशसभा सदस्य राजीवविक्रम शाहीसहित विमानस्थल पुगेका प्रधानमन्त्रीले आफूसँगै १६ जना स्वास्थ्यकर्मीलाई प्रभावितस्थल लिएर गए।

सचिवालयमा रहेका सहयोगीलाई काठमाडौँमा नै छाडेर प्रधानमन्त्री सीमित सुरक्षाकर्मीका साथ जाजरकोटको मालिका ब्यारेकमा बिहान ८ बज्दा नबज्दै पुगे। आम नेपालीले नियमित काम सुरु नगर्दै प्रधानमन्त्री नेतृत्वको टोली भूकम्प प्रभावितस्थल जाजरकोट पुगिसकेको थियो।

केन्द्रबिन्दु नै भएका कारण यसपटकको भूकम्पले सबैभन्दा बढी क्षति जाजरकोटमा नै पुगेको छ। त्यसपछि रुकुम पश्चिममा जनधनको क्षति भएको छ।

जाजरकोटको बारेकोट गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीका अनुसार केन्द्रबिन्दु भए पनि त्यहाँ मानवीय क्षति कम भएको छ। भौतिक संरचनामा भने ठूलो क्षति भएको छ। झण्डै एक हजार परिवार विस्थापित भएका छन। उनीहरुको घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। बस्नै नहुने अवस्था छ। त्यहाँ अन्य एक हजार पाँच सयको हाराहारीमा घर जोखिममा छन्।

‘भूकम्प सम्झँदा र घरको अवस्था देख्दा सबै तर्सित छन्। भूकम्प पीडित गाउँभन्दा टाढा जङ्गल, गुफा र चौरमा बसिरहेका छन्’, उनले भने। केन्द्रबिन्दु रहेको भूकम्पबाट त्यहाँ सडकलगायत भौतिक संरचनामा क्षति पुगेको छ। घर क्षतिग्रस्त छन्। जमिन भासिएको छ। चिराचिरा परेको छ। भग्नावशेषजस्तो देखिएको छ। गाउँपालिकाको केन्द्रबाट तीन किलोमिटर टाढा रहेको भूकम्पको केन्द्रबिन्दुमा बस्ती, जङ्गल र खोला छ।

जाजरकोटको भेरी नगरपालिका प्रमुख चन्द्रप्रकाश घर्तीका अनुसार प्रधानमन्त्री दाहालले प्रभावित क्षेत्रको अवलोकन गरेर पीडामा रहेका नागरिकलाई मल्हमपट्टी लगाउन सहयोग पुगेको छ। उनले भने, ‘प्रधानमन्त्रीले नै स्थलगत निरीक्षण गर्नुभएको छ। विश्वास छ, सङ्घीय सरकारले ठूलो सहयोग गर्नेछ।’

प्रधानमन्त्री दाहालले धेरै प्रभावितमध्येको एक जाजरकोटको नलगाड नगरपालिकाको दलीबाट आफू चढेर गएको हेलिकोप्टरमा नै सात जना घाइते र सात जना कुरुवालाई उद्धार गरेर उपचारमा पठाएका थिए।

घाइतको तत्काल उद्धारमा जोड दिएका प्रधानमन्त्रीले दिउँसो फर्कने क्रममा पनि एक बालकसहित तीन जनालाई रुकुमको आठबिसकोटबाट उद्धार गरेर उपचारका लागि सुर्खेत छाडेर आएका थिए। गम्भीर अवस्थामा रहेका सात जना घाइतेलाई नेपाल वायु सेवा निगमको जहाजमार्फत काठमाडौँ ल्याइएको छ।

प्रधानमन्त्री दाहालले आज सानीभेरी, आठबिसकोट, मुसीकोट, जाजरकोटको थाप्लेचौर, नलगाडलगायत स्थानमा आफैँ पुगेर घाइतेको अवस्थाका बारेमा जानकारी लिए। उनले उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकहरूलाई आग्रह गरे। थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा पठाउन तथा खर्चको कुनै चिन्ता नगर्न ढाडससमेत दिएका थिए।

यस्तै उद्धार र राहतमा खटिएका सुरक्षाकर्मीलाई समेत उच्च मनोबलका साथ खटिन निर्देशन दिएका प्रधानमन्त्रीले सरकारको तर्फबाट सबै प्रकारको सहयोग रहने र साथैमा रहेको बताए। घरबास भत्केर खुला स्थानमा पुगेका नागरिकसँग प्रत्यक्ष संवाद गर्न एकाबिहानै प्रधानमन्त्री पुग्दा धेरैले आश्चर्यसमेत मानेका थिए।

प्रधानमन्त्रीले भूकम्पमा परी निधन भएका मानिसका आफन्तसँग रुकुमको राडीबजारमा भेटेर समवेदना प्रकट गरेका थिए। उनले सरकार साथमा भएकाले चिन्ता नगर्न आग्रह गर्दै पुनःस्थापना र राहतको प्रबन्ध गरिने विश्वास दिलाएका थिए।

आज दिनभरजसो भूकम्प प्रभावितसँग रहेका प्रधानमन्त्रीले सोही क्रममा गृह, सञ्चार तथा सूचना प्रविधि, उद्योग वाणिज्य तथा आपूर्ति, स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीलाई पनि आ–आफ्नो मन्त्रालयमार्फत गर्नुपर्ने राहत र उद्धारको कामको तयारी गर्न निर्देशन दिएका प्रेस संयोजक शर्माले जानकारी दिए। प्रधानमन्त्रीको निर्देशनलगत्तै ती मन्त्रालयले पनि प्रभावितलाई केन्द्रमा राखेर आवश्यक निर्णय गरेका छन्।

उद्धारको काम सम्पन्न भएको निष्कर्षमा पुगेका प्रधानमन्त्रीले राहत, पुनःस्थापनाका लागि आवश्यक निर्णय गर्न आइतबार बिहान मन्त्रिपरिषद्को बैठक बोलाएका छन्।

अधिकारसम्पन्न स्थानीय सरकार गठन भएका कारण उद्धारको काम प्रभावकारी भएको निष्कर्षका साथ काठमाडौँ फर्केका प्रधानमन्त्री दाहालले दोस्रो चरणमा राहतको कामलाई प्राथमिकतामा साथ युद्धस्तरमा अगाडि बढाउने विश्वास स्थानीय प्रभावितलाई पनि दिलाएका छन्।

भूकम्पबाट भत्किएका घर तथा आवास, सरकारी संरचना तथा अन्य भौतिक पूर्वाधारको निर्माणका लागि प्राधिकरणको मोडालिटीमा नै नयाँ संरचना निर्माण गर्नुपर्ने हो कि भन्ने निष्कर्षमा प्रधानमन्त्री पुगेका छन्।

‘स्थलगत निरीक्षणका क्रममा देखिएको अवस्था, विज्ञहरूको सुझाव तथा अन्य परिस्थितिलाई ख्याल गरेर आइतबार बस्ने मन्त्रिपरिषद्को बैठकले आवश्यक निर्णय गर्नेछ। आज विभिन्न मन्त्रालयले गरेका निर्णयलाई समेत सरकारले ग्रहण गर्ने सरकारको तयारी छ’, प्रेस संयोजक शर्माले भने।

पश्चिम नेपालमा लगातार भूकम्प गइरहेको सन्दर्भलाई ध्यान दिएर सरकारले दीर्घकालीनरूपमा पनि उपयुक्त समाधान खोज्ने तथा सुरक्षित आवास निर्माण गर्नुपर्ने आवश्यकता देखेको छ। प्रधानमन्त्रीले भूकम्पपछिको पुनःनिर्माणका लागि आवश्यक सबै प्रबन्ध गर्ने र त्यसमा सबै राजनीतिक दल र सरोकारवालाको साथ खोजेका छन्।

जाजरकोट र रुकुम पश्चिमको भूकम्प प्रभावित क्षेत्रको अनुगमन गरेर फर्किने क्रममा नेपालगन्ज विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले आज उद्धार र उपचारमा ध्यान केन्द्रित गरिएको बताएका थिए।

प्रधानमन्त्री दाहालले आइतबारदेखि राहत र पुनःस्थापनाको काममा लाग्ने उल्लेख गरे। उनले नेपाललाई चाहिने सहयोग गर्ने भनेर छिमेकी मुलुकबाट पनि फोन आएको तथा मन्त्रिपरिषद् बैठकमा निर्णय गरेर आवश्यक सहयोगबारे बताउने जानकारी गराएको उल्लेख गरेका थिए।

रमेश लम्साल/रासस

प्रकाशित: २०८० कार्तिक १८ गते शनिवार १०:२९
प्रतिक्रिया

थप समाचार

एसियन हाइवे र झापाको विकास निर्माणमा सांसदको चासो, सिडिओ कार्यालयमा छलफल

झापा। जिल्लामा सञ्चालित विकास निर्माणका आयोजना, एसियन हाइवे निर्माण, भूमि समस्या समाधान र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने विषयमा प्रतिनिधिसभाका सदस्य र जिल्लास्थित कार्यालय प्रमुखबीच...

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

विद्युत् व्यापार आशयपत्रको स्वागत गर्दै इप्पानले राख्यो चार माग

काठमाडौं। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले अन्तरदेशीय विद्युत् व्यापारको तयारीका लागि निजी क्षेत्रलाई आशयपत्र जारी गर्ने सरकारको निर्णयको स्वागत गर्दै अनुमतिपत्र पाउने...

एनपीएलका लागि ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौँः नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणलाई लक्षित गर्दै एक्सट्रीम इनर्जी ड्रिङ्कले देशका ९ सहरमा १० वटा फ्यान जोन सञ्चालन गर्ने भएको छ। कात्तिक ९ देखि मंसिर ५ गतेसम्म हुने एनपीएलका...

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना