काठमाडौँ- नेपाली कांग्रेसले प्रतिनिधि सभा र राष्ट्रिय सभा सांसदहरूको १५ दिनको पारिश्रमिक भूकम्पपीडितलाई दिने भएको छ।
संसदीय दल नेता शेरबहादुर देउवाको निवास धुम्बाराहीमा आइतबार बसेको बैठकले संघीय सांसदहरूको आधा महिनाको भूकम्पपीडितको राहतका लागि दिने निर्णय गरेको हो।
‘भूकम्पपीडितहरूको उद्धार, राहत र पुनर्स्थापनाका लागि संघीय संसदमा कांग्रेसका तर्फबाट प्रतिनिधित्व गर्ने सांसदहरूले १५ दिन बराबरको पारिश्रमिक सहयोग स्वरूप नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय भएको छ,’ प्रमुख सचेतक रमेश लेखकले भने।
प्रतिनिधि सभामा कांग्रेसका ८८ जना र राष्ट्रिय सभामा १० जना सांसद छन्। संघीय सांसदको तलब ५५ हजार २३० रुपैयाँ हुन्छ। कांग्रेसका ९८ सांसदको आधा महिनाको पारिश्रमिक २७ लाख रुपैयाँ हुन्छ।
कांग्रेसले यसअघि ५० लाख रुपैयाँ सरकारी कोषमा सहयोग गर्ने निर्णय गरिसकेको थियो।


