काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सर्वदलीय बैठक बोलाएका छन्।
मंगलबार दिउँसो २ बजे सिंहदरबारमा संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलसँग छलफल गर्न बैठक बोलाइएको प्रधानमन्त्रीो सचिवालयले जानकारी दिएको छ।
भूकम्पले मानवीय र भौतिक रूपमा ठूलो क्षति गरेपछि प्रधानमन्त्रीले उक्त विषयमा र समसामयिक विषयमा छलफल गर्न बैठक बोलाइएको हो।
भूकम्प गएको भोलिपल्ट बिहानैदेखि प्रधानमन्त्री दाहाल प्रभावित क्षेत्रमा खटिएका थिए। उनले १८ घण्टासम्म फिल्डमा नै खटिएर उद्धार कार्य प्रभावकारी बनाउने भूमिका खेलका थिए।
यसपछि सरकारका दुवै उपप्रधानमन्त्री प्रभावित क्षेत्रमा खटिएका छन्। मंगलबारै राष्ट्रपति रामचन्द्र पौडेल पनि प्रभावित क्षेत्रको भ्रमणमा निस्किएका छन्। राजनीतिक दलका नेताहरू पनि प्रभावित क्षेत्रमा पुगिरहेका छन्। तर पनि पीडितले भने राहत नपाएको गुनासो गर्दै आएका छन्। सरकारले एकद्वारका नाममा सरकारी निकायबाहेकलाई राहत वितरण गर्न दिएको छैन।
संकलन भएका सामग्री सदरमुकामको गोदाममा थन्किएको भन्दै स्थानीय सरकारहरूले संघीय सरकारको विरोध गरिरहेका छन्।
शुक्रबार राति ११ बजेर ४७ मिनेटमा गएको ६.४ म्याग्निच्युडको भूकम्पमा परी जाजरकोट र रुकुम पश्चिममा १५३ जनाको मृत्यु भएको छ। यीमध्ये ७८ जना बालबालिका छन्। घाइतेको संख्या ३ सयभन्दा बढी छ। उनीहरुमध्ये २९९ जना उपचारपछि डिस्चार्ज भएको स्वास्थ्य तथा संख्या मन्त्रालयले जानकारी दिएको छ। उपचाररत घाइतेहरू जाजरकोट, रुकुमपश्चिम, सुर्खेत, बाँके र काठमाडौँमा छन्।
उक्त क्षेत्रमा परकम्प जाने क्रम जारी छ। सोमबार दिउँसो गएको ५.८ म्याग्निच्युडको भूकम्पमा परी थप १३ जना घाइते भएको गृह मन्त्रालयले जानकारी दिएको छ।
भूकम्पपीडितका लागि विभिन्न देश, संस्था, सरकारका निकायहरूले राहत प्रदान तथा घोषणा गर्ने क्रम जारी छ। तर पीडितले पालसम्म नपाउँदा बालबालिकाको बिजोक छ।
प्रभावित क्षेत्रमा झाडापखाला लगायतका सरुवा रोग फैलन सक्ने भएकाले सतर्कता अपनाउन सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनले प्रभावित क्षेत्रका सबैमा आह्वान गरेका छन्।


