काठमाडौँ- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको नेतृत्वको टोली चीन प्रस्थान गरेको छ।
चीनियाँ कम्युनिष्ट पार्टीको विदेश विभागको निमन्त्रणामा दक्षिण एसिया र दक्षिण पूर्व एसियाका पार्टीहरु संलग्न भएको एउटा कार्यक्रममा सहभागी हुने नेपाल नेतृत्वको टोली चीन प्रस्थान गरेको हो।
चीन प्रस्थान गर्ने क्रममा पत्रकारहरुसँग कुरा गर्दै उनले चीनमा चीनियाँ कम्युनिस्ट पार्टी लगायत विभिन्न पार्टीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको बताएका छन्।
उनले चिनियाँ नेताहरुसँग दुईपक्षिय सम्बन्धलाई बलियो बनाउँने र दुई देशबीचको सम्बन्धलाई पनि बलियो बनाउँने विषयमा छलफल हुने बताए।
‘चीनियाँ नेताहरुसँग पनि दुईपक्षिय सम्बन्धलाई कसरी बलियो बनाउने भन्ने विषयमा पनि कुराकानीहरु हुनेछ। दुई देशबीचको सम्बन्धलाई पनि कसरी बलियो बनाउँने भन्ने विषयमा पनि छलफल हुनेछ। अरु पार्टीसँग पनि हाम्रो अन्तरक्रियाहरु पनि गरिने छ,’ उनले भने।
यस्तै, उनले सर्वदलिय बैठकमा व्यवस्थालाई बलियो बनाउँन बारेमा १२ बुँदे सहमति गरेका पार्टीहरु एकै स्थानमा उभिनु पर्ने भन्दै जनताको अवस्थामा पनि परिवर्तन गर्ने कार्यमा मिल्नुपर्छ भन्ने विचार व्यक्त गरेको पनि जानकारी दिए।


