जाजरकोट- रूकुम–पश्चिम आठबिसकोट हीरा विक माइतीमा नगएको धेरै भएको थियो। दाइहरू भदाभदैसँग भेट्न जाने भन्दाभन्दै घरको कामले समय नै मिलाउन नसकेर उनी माइतीमा जान पाएकी थिइनन्।
यही कात्तिक १७ गते उहाँ घरको कामबाट फुर्सद मिलाएर भेटघाटको लागि माइतीमा गइन्। धेरैपछि आएकी बहिनीलाई माइतीमा मीठोमसिनो खुवाउनुपर्छ भनेर उनका दाइले मासु किनेर ल्याए। अनि सबैजना खाना खाएर सुख दुःखका कुराकानी गर्दै थिए।
हीराका दाइले रात धेरै गइसक्यो बहिनी अब सुत्नुपर्छ भनेपछि सबैजना आफ्नो आफ्नो कोठामा गए।
उनीहरु सबैजना सुत्नेबेला घडीमा रातको साढे ११ बजेको थियो।
‘म माइतीमा पाहुना आएको थिएँ,’ हीराले भनिन्, धेरैपछि माइतीमा आउँदाको खुसी धेरै थियो। सबैजना सुख–दुःखका कुरा गरेर बसिरहेका थियौं। दाइले अब धेरै रात बित्यो सुत्नुपर्छ भनेपछि हामी सबै सुत्न आफ्नो आफ्नो कोठामा गयौं। कोठामा भर्खर सुतेका थियौं, घर हल्लिन थाल्यो एकैछिमा सबै घर तल खस्यो।’
भाग्यले आफ्नो ज्यान जोगिएकी हीराले बाहिर चिच्यावट आवाज आएपछि मात्रै घर भत्किएको थाहा भएको उनले बताइन्।
‘हामी सबै घरभित्र पुरियौं। गाउँका बाँचेका दाइभाइ आएर आधा घण्टापछि हामीलाई निकाल्नुभयो,’ हीराले भनिन्, ‘सबै बेहोस अवस्थामा थिए, कोही बाँच्नुभयो भने कोही सधैँको लागि छोडेर गए।’
दाइभाइ र भदाभदैसँग भेट्न आएकी हीराले सबैसँग भेट्न पाइन्। तर दाइकी छोरीसँगको त्यो भेट अन्तिम रहेछ।
‘कानले सबै कुरा सुनेको थिएँ। भदैनीले फूपु बचाउनुहोस् बचाउनुहोस् भनेको याद ताजै छ, अलि छिटो निकालेको भए सकभर भदैनी बाँच्थिन् होला,’ उनले भनिन्।
‘भदैनी छोडेर गइसकी। अरू दाइहरुरू घाइते हुनुहुन्छ, न त घर रह्यो न त भदैनी,’ उनको विलौना छ।
माइतीमा मात्रै होइन, आफ्नो घरमासमेत त्यस्तै पीडा रहेको उनी बताउँछिन्। उनको घरसमेत पूर्णरूपमा क्षति भएको छ। मानवीय क्षति भने हुन पाएन। तथापि घर भने केही बाँकी छैन्।
‘हामीले भोग्नसम्म पीडा भोगिरहेका छौं। माइतीमा यति ठूलो समस्या भयो, घर केही रहेनन्। आफ्नो घर पनि सबै गइसक्यो। सबै तिर समस्या नै समस्या छ,’ उनले भनिन्
सरकारले अहिले राहत त दिइरहेको छ। तर पुनःस्थापनाको काम छिटो गरिदिन उनको सरकारसँग माग छ। अहिले जाजरकोट र रुकुम पश्चिममा अधिकांश गाउँमा यस्तै पीडामा मानिस रहेका छन्।
यो पीडामा मल्हम लगाउनको लागि सरकार र विभिन्न निकायबाट राहत सहयोग त गइरहेको छ। तर राहत वितरणमा ढिलाइ भइरहेको गुनासो पनि छ।
मनोविद्हरूले भूकम्पबाट प्रभावित भएकालाई मनोसामाजिक समस्या देखिनसक्ने जनाउँदै सरकारले ध्यान दिनुपर्ने सुझाव दिएका छन्। विशेषगरी भूकम्पको त्रासमा रहेको महिला बालबालिकालाई मनोसामाजिक समस्या देखिन सक्ने भन्दै त्यतातर्फ ध्यान दिन मनोविद्हरूको सुझाव छ।



