काठमाडौँ- जन्ममितिका विषयमा छानबिन सुरू भएपछि नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले राजीनामा दिएका छन्। पाण्डेले बिहीबार साँझ राजीनामा बुझाएको सैनिक स्रोतको भनाइ छ।
नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयले छानबिन सुरु गरेको थियो। पाण्डे आगामी प्रधानसेनापतिको रोलक्रममा समेत थिए। प्रधानसेनापति प्रभुराम शर्माको २०८१ भदौ २४ गते कार्यकाल सकिए लगत्तै पाण्डे प्रधानसेनापतिको रोलक्रममा थिए।
पाण्डेको एसएलसीको प्रमाणपत्रमा २०२१ साल माघ १२ गते जन्ममिति लेखिएको छ। तर नागरिकताको प्रमाणपत्रमा भने २०२३ साल लेखिएको छ।
कुनै व्यक्तिको एसएलसी परीक्षाको प्रमाणपत्र तथा नागरिकतामा उमेर फरक परेमा प्रवेशिकाको प्रमाणपत्रमा उल्लेखित मिति वा जून उमेर बढी छ, सोहीलाई कायम राख्ने प्रावधान छ।


