थवाङ (रोल्पा)– प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रोल्पा जिल्लाको थवाङ विचार र क्रान्तिको प्रतीक भएको बताएका छन्।
शुक्रबार रोल्पा जिल्लाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उक्त कुरा बताएका हुन्।
‘झण्डै ६ वर्षपछि हाम्रो आधारक्षेत्र थवाङ आउन पाउँदा मलाई हर्ष र गौरवको अनुभूति हुन्छ। म ४० वर्षअघि पहिलोपटक थवाङ आएको थिएँ। जनयुद्धको तयारी, उठान र सञ्चालन यहीं आधार बनाएर गरिएको थियो,’ उनले भने, ‘थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। यहाँ आएर फर्किंदा म जहिले पनि ऊर्जा लिएर फर्किन्छु। थवाङलाई देशले मात्रै चिन्दैन, सिंगो विश्वले चिन्छ। यसबाट बेलाबेला संसारलाई नै महत्त्वपूर्ण सन्देश दिन्छ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्रपछिका पछिल्ला १५ वर्षमा रोल्पा मुहार परिवर्तन हुँदै गएको बताउनुभएको छ। शुक्रबार दिउँसो सहिद स्मृति राजमार्गको थवाङ खोलामा निर्मित मोटरेवल पुलको उद्घाटन गर्दै प्रधानमन्त्रीले गणतन्त्र प्राप्तिको लडाइँमा अग्रणी योगदान गर्ने रोल्पा जिल्लालाई गणतान्त्रिक सरकारले विशेष महत्त्व दिएको बताए।


