काठमाडौँ- मोरङको उर्लाबारीमा आगलागी हुँदा घाइतेको उपचारका लागि अमेरिकाबाट डाक्टरहरू आउने भएका छन्। घाइतेमध्ये ६ जनाको अवस्था गम्भीर रहेको र विशेष गरी उनीहरूकै उपचारका लागि अमेरिकाबाट डाक्टर आउने जानकारी अस्पतालले युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूलाई गराएको हो।
घाइतेहरुको अवस्था बुझ्न मन्त्री लिम्बू शुक्रबार कीर्तिपुर अस्पताल पुगेका थिए। उपचाररत २५ मध्ये ६ जनाको अवस्था भने गम्भीर रहेको अस्पतालकी डाक्टर निजिना ताम्राकारले मन्त्री लिम्बूलाई गराएकी थिइन्।
‘६ जनाको अवस्था गम्भीर छ। जलनको उपचार जटिल हुन्छ। सबै चिकित्सकहरु लागिरहनुभएको छ। यसको बेटर म्यानेजमेन्ट गर्नेछौँ,’ उनल भने। आइतबारसम्म अमेरिकाबाट चिकित्सक आइपुग्ने मन्त्री लिम्बूको भनाइ छ। सरकारले घाइतेको जीवन रक्षाका लागि आवश्यक सबै काम र सहयोग गर्ने उनले प्रतिबद्धता जनाए।
गत कात्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चार प्रहरीसहित २७ जना घाइते भएका थिए। तीमध्ये २५ जनालाई नेपाली सेनाको विमानमार्फत् काठमाडौं ल्याइएको थियो।


