जब क्रिस्टियानो रोनाल्डो साउदी प्रो-लिग क्लब अल नासारमा अचानक स्थानान्तरण भए, त्यो भन्दा पहिला फुटबल समर्थकलाई एन्डर्सन टालिस्काका बारे सायदै थाहा थियो। ५ पटकका बालोन डि’ओर विजेता रोनाल्डो साउदी आएपछि भने युरोपेली क्लबमा अनुबन्ध हुने क्रम सुरु भयो। नेयमार, करिम बेन्जिमा, एनगोलो कान्टे, जोर्डन हेन्डर्सन जस्ता स्टार खेलाडी पनि साउदी आए।
साउदी प्रो-लिगले ती खेलाडीलाई अनुबन्ध गर्यो, जो आफ्नो करियरको अन्तिम अवस्थामा खेलिरहेका थिए। यद्यपि नेयमार, सर्गेज मिलिनकोभिच सेभिच, रियाद महारेजदेखि २१ वर्षका स्पेनिस प्लेमेकर गाब्री भियगा जस्ता खेलाडीले पनि साउदी प्रो लिगमा पाइला राखे।
अहिले साउदी लिगले तेज गतिमा चर्चा कमाइरहेको छ। यही लिगले ब्राजिलका टालिस्कालाई पनि चर्चा दिलायो। उनी अल नासारका सहायक खेलाडीका रूपमा मात्रै रहेनन्, रोनाल्डोसँगै चर्चा बटुलिरहने खेलाडीमा समावेश भए। उनले साउदीको प्रो लिगमा आफू पनि सुपरस्टार बन्ने गरी मिसन बनाए।
अब प्रश्न उठ्छ- प्रतिभाशाली खेलाडी टालिस्का यति लामो सयमसम्म राडारबाहिर कसरी रहन पुगे त?
उनको जन्म ब्राजिलको चौथो ठूलो राज्य-बाहियाको फेइरा डी सेन्टाना सहरमा भएको थियो। देशका अधिकांश बालकालिकाझैँ उनको पालन पोषण पनि गरिबीमा भएको थियो। उनलाई चाँडै महसुस भएको कुरा चाहिँ के थियो भने फुटबल राम्रो जीवनको एउटा मार्ग हुन सक्छ।
सडकमा आफ्नो खेलकौशललाई निखारेपछि टालिस्काले १३ वर्षको उमेरमा भास्का डी गाको युथ टिममा पाइला राखे। सन् २००९ मा तत्कालीन ब्राजिलियन सिरी बी आउटफिट एफसी बाहियामा सामेल हुनुभन्दा पहिला भास्का डी गामामा उनले २ वर्ष बिताए।
चार वर्षपछि उनलाई बाहियाको एकाडेमीबाट सिनियर टिममा बोलाइयो। क्लब पनि सिरी ए मा प्रमोसन भइसकेको थियो। उनले कोरेन्थियससँगको प्रतिस्पर्धामा आफ्नो क्षमता प्रस्तुत गरे। उनले साओ पाउलोविरुद्धको आफ्नो दोस्रो खेलमा गोलको खाता खोले। त्यसछि उनले सुरुवाती ११ मा नियमित स्थान बनाए। तर उनको खेलमा उतारचढाव आइरह्यो। उनको टोली पनि रेलिगेसनबाट बच्न संघर्षरत थियो।

टालिस्काले क्रुजेइरोमा खेलको अन्तिम मिनेटमा महत्वपूर्ण गोल गरे। सोही गोलोको सहयोगमा बाहियाको रेलिगेसनको जोखिम टारिदियो। त्यही बिचमा बाहियाले मार्किन्होस् सान्तोषलाई प्रशिक्षक नियुक्त गर्यो। सान्तोष सुरुवातदेखिनै टालिस्काको लगाव र क्षमताबाट प्रभावित थिए।
‘टालिस्कालाई आफ्नो प्रशिक्षणको फल मिलिरहेको छ। उनी एक यस्ता खेलाडी हुन्, जसले खेलमा आफैंलाई समर्पित गर्छन्। उनी सँधै मैदान छाड्ने अन्तिम खेलाडीमध्येका एक हुन्। प्रशिक्षण सकिएपछि पनि उनी लगातार फ्री-किकको प्रशिक्षण गरिरहन्थे,’ सान्तोषले भनेका छन्, ‘उनी एक क्षमतावान खेलाडी हुन्।’
उनले सन् २०१४ को सिजन आधा हुँदा ९ गोल गरेका थिए। उनको यो प्रदर्शन देखेर पोर्चुगिज क्लब बेनफिका आकर्षित बनेको थियो। बेनफिकाले ५ मिलियन यूरो खर्चिएर जुलाईमा अनुबन्ध गर्यो। उनलाई सार्वजनिक गर्दै बेनफिकाका तत्कालिन प्रशिक्षक जोर्गे जेसुसले भनेका थिए, ‘उनी अर्का एक व्यक्ति हुन्, जो बेनफिकका लागि लाखौं कमाउन गइरहेका छन्।’
टालिस्काले बेनफिकामा पहिलो तीन महिनामा ८ गोल गरे। उनले भिक्टोरिया सेटुबलविरुद्ध ह्याट्रिक गरे। एक नयाँ हिरा फेला पारेपछि प्रशिक्षक जेसुसले प्रशंसा गरेका थिए। बेनफिकामा उत्कृष्ट प्रदर्शन गरिरहेका टालिस्कामाथि चेल्सीका तत्कालीन प्रशिक्षक जोसे माउरिन्होको नजर परेको थियो।
माउरिन्होले त्यतिबेलै पोर्चुगिज टेलिभिजन टिभीआई२४ सँग भनेका थिए, ‘मलाई लाग्छ कि बेनफिकाले राम्रो अनुबन्ध गर्यो। टालिस्कासँग वर्क परमिट छैन। नत्र उनी अहिले इंग्ल्यान्डमा खेलिरहेका हुन्थे।’
बाहियाका पूर्व कोअर्डिनेटर नूटन मोटा, जसले टालिस्कालाई व्यवसायिक फुटबलमा पाइला राख्न सहयो गरेका थिए। उनी टालिस्कालाई रिभाल्डोसँग तुलना गर्छन्। ‘मानिसहरु उनलाई याया (याया टुरे)टालिस्का भन्छन्। तर मलाई लाग्छ उनी रिभाल्डोजस्तै छन्। जो देब्रे खुट्टा प्रयोग गर्छन्। दौडिँदा लामो फड्को मार्छन्। अनी राम्रो सर्ट प्रहार गर्छन्।’
बेनफिका प्रिमिरा लिगामा उडान भरिरहेको थियो। तर च्याम्पियन्स लिगमा भने राम्रो गर्न सकिरहेको थिएन। उसले सुरुवाती तीन खेलबाट केवल एक अंक मात्र जोड्न सकेको थियो। तर चौथो खेलमा मनाकोको घरेलु मैदानमा बराबरीमा चलिरहेको खेलमा टालिस्काले जादु गरे। खेल सकिन ८ मिनेट बाँकी रहँदा कर्नरबाट गोल गरे। जसका कारण बेनफिका विजयी बन्यो। त्यो क्षण उनले दर्शकका सामुन्ने आफूले पाएको नयाँ रिभाल्डोको ट्यागलाई कायम राख्ने संकेत गरेका थिए। यद्यपि बेनफिका च्याम्पियन्स लिगमा समूह चरणबाटै बाहिरियो। तर टालिस्काको खेल शैलीको प्रसंशा भने भइरह्यो। चेल्सीसँग उनको नाम थप जोडिन थाल्यो।
सन् २०१४-१५ को सिजनमा प्रशिक्षक जेसुसले बेनफिकालाई घरेलु लिग जिताए। यस्तै टाका दा लिगाको ट्रफी पनि दिलाए। त्यो सिजन टालिस्काले सबै प्रतियोगितामा १४ गोल गरे। उनलाई ब्राजिलको राष्ट्रिय टिममा पहिलो पटक समावेश गरियो। तर जब जेसुस बेनफिका छाडेर कट्टर प्रतिद्वन्द्वी स्पोर्टिङ सिपीमा गए, तब टालिसकाका लागि पनि सबै थोक फेरियो।
जेसुसपछि बेनफिककाको प्रशिक्षण सम्हाल्न आइपुगे- रुई भिटोरियो। उनले तुरुन्त जुझारु सेन्ट्रल मिडफिल्डर लिएर ४-४-२ को फर्मेसनमा जोड दिए। जसका कारण जेसुसले टालिस्कालाई दिएको प्लेमेकरको रोललाई समाप्त बनाइदियो।
उनले सन् २०१५-१६ को सिजनको मध्यान्तरसम्म पुग्दा केवल ३ गोल मात्रै गरे। उनले नयाँ प्रशिक्षकसँग चलिरहेको तनावबारे बोले। उनले सो सिजनको डिसेम्बरमा भनेका थिए, ‘हरेक खेलाडी यस्तो क्षणबाट गुज्रनुपर्छ। असुरक्षा र आत्मविश्वासको कमी भइरहेको छ। तर म कडा मेहनत गरिरहेको छु। मैले जेसुसको नेतृत्वमा धेरै खेलेँ। यद्यपी रुई भेटोरियोसँग व्यक्तिगत झगडा भने छैन।’

टालिस्काले सिमित खेल समयका बाबजूद पनि सबै प्रतियोगितामा ९ गोल गरे। जसमा च्याम्पिन्स लिगको क्वार्टर फाइनलमा बार्यन म्युनिख विरुद्धको खेलमा गरेको शानदार फ्रि-किक गोल पनि समावेश छ। तर बेनफिका बार्यन म्युनिखविरुद्ध समग्रमा ३-२ गोल अन्तरले पराजित भयो। तरपनि यूरोपमा आश्चर्यजनक प्रदर्शन गरेका कारण बेनफिकाको प्रसंशा भइरह्यो। क्लबले लगातार तेस्रो पटक घरेलु लिग जित्यो।
रुई भेटोरियोले बेनफिकालाई अलग्गै लेभलमा पुर्याएका थिए। तर दोस्रो सिजनका लागि उनले आफ्नो खेल योजनामा टालिस्कालाई राखेनन्। लिभरपुल र उल्भ्सले टालिस्का भित्र्याउन चासो राखेका थिए। तर बेसिकटासले उनलाई अनुबन्ध गर्ने दौड जित्यो। उसले दुई वर्षका लागि लोनमा टालिस्का अनुबन्ध गर्यो।
बेसिकटासमा अनुबन्ध भएको एक महिना भन्दा कम समयमा उनी आफ्नो मूल क्लब विरुद्ध मैदान उत्रिए। टालिस्का मैदान दोस्रो हाफमा मैदान छिर्नु अघि बेनफिका १-० गोलले अघि थियो। अन्तिमसमयसम्म बेनफिकाले अग्रता कायम राख्न सफल भयो। खेल सकिन केही समय बाँकी रहँदा बेसिकटासले फ्रि-किकको मौका पायो। २५ यार्ड बाहिरबाट टालिस्काले गोल गरिदिए।
खेलपछि स्पोर्ट टिभीसँग कुरा गर्दै उनले बेनफिकाले छोरी जन्मिएपछि आफूलाई तलब नदिएको आरोप लगाए। ‘म बेनफिकाको म्यानेजमेन्टलाई स्पष्ट भन्न चाहन्छु। उनीहरुले मेरो सम्मान गरेनन्। उनीहरुले मेरो आलोचना गरे अनि पैसाका कारण बेनफिका छाडेको आरोप पनि लगाए। यो झुट हो।
टालिस्काले बेसिकटासमा पहिलो सिजन १७ गोल गरेर अन्त्य गरे। क्लबले घरेलू लिग पनि जित्यो। समर्थकले उनलाई ‘किरालिक कटिल’को उपनाम पनि दिए। जसको अर्थ ‘भाडामा लिएको हत्यारा’ भन्ने हुन्छ। सन् २०१७-१८ को सिजनमा उनी क्लवका शीर्ष गोलकर्ता थिए। तर उनलाई क्लबले स्थायी स्थान्तरण गर्न सकेन।
बेनफिका टालिस्कालाई बेच्न तयार थियो। त्यो बेला म्यानचेस्टर युनाइटेड सम्हालिरहेका जोसे माउरिन्होले एक अट्याकिङ मिडफिल्डरका रुपमा टालिस्कालाई अनुबन्ध गर्न इच्छा राखेका थिए। तर चाइनजिज क्लब गोन्जाओ एभरग्रान्डेले २०१८ को जूनमा युनाइटेडलाई पछि पार्दै टालिस्कालाई अनुबन्ध गर्यो। त्यसपछि यूरोपियन फुटबल फरि खेल्ने उनको सम्भावना लगभग समाप्त भएको थियो।
टालिस्काले गोन्जाओमा तीन वर्ष बिताए। यो अवधिमा उनले ३९ गोल गरे। अन्य ६५ खेलमा १३ गोल गरे। यो अवधिमा उनले एक पटक चाइनिज सुपर लिगको उपाधि समेत जिते। सन् २०२१ को सुरुवाती महिनाबाट साउदीको दिग्गज क्लब अल-हिलालले उनलाई अनुबन्ध गर्न इच्छा देखाएको थियो।
तर उनलाई भित्र्याउने दौड अल नासारले जित्यो। गोन्जाओलाई ९ मिलियन डलर तिरेर अल नासारले टालिस्कालाई अनुबन्ध गर्यो। आफ्नो प्रमुख प्रतिद्वन्द्वी अलहिलालको प्रस्ताव अस्वीकार गरेका कारण अल नासारका समर्थकका नजरमा उनी नायक सावित भए। उनले विस्तारै आफूलाई टिमको प्रमुख सदस्यका रुपमा अघि बढाउँदै लगे अल नासारमा उनको कद पनि बढ्दै गयो। उनले आफ्नो पहिलो ३७ खेलमा ३१ गोल गरेर शानदार प्रदर्शन गरे। त्यसपछि उनलाई साउदी प्रो लिगको एक पोस्टर ब्याइ बने। तर रोनाल्डो आएपछि भने उनको पोस्टर ब्वोइको छवि खोसियो।
तर रोनाल्डोसँग तत्कालै उनको एक मजबूद साझेदारी देखियो। पोर्चुगिज भाषाका कारण उनीहरु निजिकए। सन् २०२२-२३ को सिजनमा अलनासार घरेलु लिगमा दोस्रो भयो। रोनाल्डो र टालिस्काले महत्त्वपूर्ण गोलमा साझेदारी गरे।
यो सिजनमा अल नासारले साडियो माने, एलेक्स टेलेस, मार्सेलो ब्रोजोभिक, अमेरिक लापोर्ट जस्ता खेलाडी अनुबन्ध गरेर टिमलाई अझ मजबुद बनाएको छ। मानेको आगमनसँगै टालिस्काको स्थानबारे प्रश्न उठाइयो। प्रशिक्षक लुइस कास्ट्रोले माने र रोनाल्डोसँगै टालिस्कालाई सुरुवाती ११ मा राख्न नसक्ने विश्लेषण हुन थाले।

टालिस्काले बेसिकटास फर्कने योजना समेत बनाएका थिए। तर उनले अल नासारमै रहने निर्णय लिए। चोटका कारण नयाँ सिवनका केही खेल खेल्न सकेनन्। उनी अनुपस्थित रहँदा टिमले उम्दा प्रदर्शन गर्न सकेन। तर टालिस्काले खेल्न थालेयता अल नासारले उडान भरेको छ। अल नासारले पछिल्ला १८ खेलमा १७ जित निकालेको छ।
एएफसी च्याम्पियन्स लिगमा पनि अल नासाले शानदार प्रदर्शन गरेको छ। टालिस्काले अल दुहैल क्लब विरुद्ध ह्याट्रिक गरे। उनले यो सिजनमा १७ गोल गरिसकेका छन्। उनी रोनाल्डो भन्दा केवल ४ गोलले पछि छन्।
टालिस्का टिमको अग्र भागमा जुनसुकै पोजिसनमा खेल्न सक्छन्। सोही कारण उनी अल नासारका लागि हिरा बनेका छन्। उनका सेट पिस सट सँधै खतरनाक रहन्छ। सटिक र आश्चार्यजनक सट प्रहार गर्न माहिर मानिन्छन्।
उनी आगामी फेब्रुअरीमा ३० वर्ग पुग्दैछन्। तर पनि उनी बेनफिका र बेसिकटासमा झैं फर्ममा देखिन्छन्। सोही कारण अल नासारका प्रशिक्षक कास्ट्रो उनलाई राष्ट्रिय टिममा परेको देख्न चाहान्छन्। उनले अक्टोबरमा भनेका थिए, ‘टालिस्का ब्राजिलको राष्ट्रिय टिममा समावेश हुनका लागि हकदार छन्। उनी एक महान खेलाडी हुन्।’
टालिस्काले अल दुहैल विरुद्ध ह्याट्रिक गरेपछि भनेका थिए, ‘अल नासार र समर्थक दुवैसँग मेरो सम्बन्ध राम्रो छ। म अल नासारको परिवर्तनको हिस्सा हुँ। म क्लवको विकासको हिस्सा हुन पाउँदा गर्ववान्वित महसुस गर्छ।’ उनले गत अप्रिलमा नयाँ सम्झौतामा हस्ताक्षर गरेका छन्। जस अनुसार उनी सन् २०२६ सम्म अल नासारमा रहनेछन्। अब उनले अल नासारमा ट्रफी जित्न आवश्यक छ। अल नासार १३ लिग खेल खेल्दा शिर्ष स्थानको अल हिलाल भन्दा ४ अंकले पछि छ। अहिले चलिरहेको अन्तर्राष्ट्रिय ब्रेक पछि साउदी प्रो लिगको उपाधिका लागि महत्वपूर्ण प्रतिस्पर्धा हुँदैछ। एएफसी च्याम्पियन्स लिगमा पनि अल नासार लिग जित्ने प्रमुख दावेदारकारुपमा देखिएको छ। भलै टालिस्का चेल्सी, लिभरपुल या म्यानचेस्टर युनाइटेटबाट खेल्नबाट चुके। तर यसको मतलब उनको करियर असफल रह्यो भने होइन। वास्तवमा उनको सर्वश्रेष्ठ समय अझै आउन बाँकी छ।
गोल डटकमबाट


