झापा- मेची राजमार्गको रोङ गाउँपालिका–३ कोल्बुङमा भएको बस दुर्घटनामा घाइते भएकामध्ये दुई जनाको उपचारको क्रममा मृत्यु भएपछि मृतकको संख्या तीन पुगेको छ।
जिल्ला प्रहरी कार्यालय झापाको अनुसार आइतबार भएको दुर्घटनामा घाइते भएका धनुषाधाम नगरपालिका-९ धारापानी बस्ने ३५ वर्षीया मनवती लामा र सोही वडाकी ६० वर्षीया शान्तमाया तामाङको उपचारकै क्रममा मृत्यु भएको हो।
विर्तामोडस्थित बीएन्डसी अस्पतालमा लामाको आइतबार र तामाङको सोमबार बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्र रिजालले जानकारी दिए।
दुर्घटनामा आइतबार साँझ वडा नं –९ कै १२ वर्षीय अर्पण लामाको घटनास्थलमै मृत्यु भएको थियो। बस दुर्घटनामा मृत्यु हुनेका सङ्ख्या तीन पुगेको उनले बताए।
धनुषाबाट कन्याम घुम्न आएको ना ६ ख ८४२४ नम्बरको बस फर्कने क्रममा सडकबाट अन्दाजी तीन सय मिटर तल खसेको थियो।
बस दुर्घटनामा चालकसहित ३७ जना घाइते भएका थिए। घाइते ३३ जनाको हाल बीएन्डसी अस्पतालमै उपचार भइरहेको प्रहरीले जनाएको छ।
घाइतेमध्ये अन्य दुई जनाको अवस्था पनि चिन्ताजनक रहेको छ। उनीहरुको भेन्टिलेटरमा उपचार भइरहेको छ।
बसका चालक धनुषा जनकपुर उपमहानगरपालिका –२३ का ४५ वर्षीय हरिकिन राउतलाई इलका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ। उनको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।



