युरोपेली बान्कीको अनुहार। शिरमा ढाकाटोपी। झट्ट हेर्दा युरोपेली देखिन्छन् उनी। तर शीरमा सजिएको ढाकाटोपीले उनको नेपाल साइनोलाई भुल्न दिँदैनथ्यो।
वार्धक्यका कारण चाउरिएका गालामा सेतै फुलेका दाह्रीले पनि मुहारमा कान्ति कम गरेजस्तो भान हुँदैनथ्यो। युरोपेली ‘जिन’ लिएर बेलायती भूमिमा जन्म लिएर नेपाल आएका उनी नेपाली परिवेशमा यसरी घुलित भए कि उनले आफ्नो वंशभन्दा पनि उनलाई नेपाली माटोमा मर्ने ईच्छा पलायो।
नेपालीमा ‘पुतलीबाजे’का नामले प्रसिद्धी कमाएका उनी शुद्ध र प्रष्टसँग नेपाली भाषा बोल्न सक्थे। भाषा बोल्नुभन्दा पनि उनले नेपालमा गरेको योगदानका कारण नेपाली उपनाम पाएका थिए। त्यही उपनामबाट सम्बोधित हुने चाहनाले अन्तिम सास पनि नेपाली माटोमा नै फेरे।
जन्मका आधारमा बेलायती राष्ट्रियताका कोलिन फिलिप स्मिथले नेपालमोहकै कारण नेपाली नागरिकता लिए। २० वर्ष संघर्ष गरेपछि २०७६ सालमा नेपाल सरकारले उनलाई सम्मानार्थ नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरेको थियो।
नेपालमा पुतली अध्ययनमा उनले गरेको योगदानका कारण नेपालीहरूबीच पुतलीबाजे चिनिए। सुरुमा उनको नाम पुतलीबाजे कसरी रह्यो त? पुतली संकलन गर्दै हिँड्ने भएकाले बालबालिकाले ‘पुतलीबाजे’ नामले चिन्दथे। उनलाई पछि त्यही नाम प्रिय लाग्यो। पहिचान पनि त्यही नामबाट कमाए।
नेपाल आएपछि उनी सुरुसुरमा अध्यापन गराउँदै हिँडेका थिए। २०२२ सालमा पोखरा आइपुगेका उनले केही समयपछि नै पिसकोर भोलेन्टियर डोरोथी मिरोसँग भेट गरेका थिए। मिरोले पोखराको पृथ्वीनारायण क्याम्पसमा २०२३ तिर म्युजियम निर्माण सुरु गरेका थिए। मिरोसँग भेटपछि स्मिथले पुतली खेजेर ल्याउने र क्याम्पसको म्युजियममा राख्ने सहमति गरे।

कोलिन स्मिथले नेपालका ४० भन्दा बढी जिल्ला पुगेर २५ हजारभन्दा बढी पुतली संकलन गरेका थिए। यसको प्रेरणा चाहिँ उनले काकाबाट पाएका थिए। कोलिनका काका बेलायतमा पुतलीसंग्रह गर्दर्थे। १३ वर्षको उमेरमा उनी स्काउटबाट जंगल घुम्न जाँदा पुतली देखेर झन् मोहित भएका थिए। काकाको काम देखेर आकर्षित भएका उनी नेपाल आइपुगेर काकाको कामलाई निरन्तरता दिए। काकासँग मिलेर पुतली संकलन गरे। बेलायतमा पुतली संकलनको काम गर्ने रहर लागेर पूरा गर्न नपाएका उनले नेपाल आएर आफ्नो रहर पूरा मात्र गरेनन्, नेपालले कमै महत्व दिएको पुतलीको खोज अनुसन्धानमा नेपाललाई योगदान गरे।
पुतलीसंग्रहको काममा २०५५ देखि स्मिथलाई साथ दिँदै आएका व्यक्ति हुन्- पोखरा महानगरपालिका वडा नम्बर ३ नदीपुरका सुरेन्द्र परियार। उनका अनुसार नेपालमा पाइने ६६० प्रजातिका पुलती पाइने कुरा उनै पुतलीबाजेले पत्ता लगाएका हुन्। तीमध्ये ५८७ प्रजातिका पुतली स्मिथले संकलन गरेका छन्। संकलन गरेका पुतली पृथ्वीनारायण क्याम्पसको हाताभित्र छन्। ती पुतलीको संरक्षण अन्नपूर्ण प्रकृति संरक्षण कोषले गर्दै आएको छ।
जीवनको अन्त्यावस्थामा पेटसम्बन्धी रोगका कारण दुई महिनादेखि पोखराको हरियोखर्क अस्पतालमा उपचाररत उनको ८७ वर्षको उमेरमा निधन भएको हो।

युनिभर्सिटी अफ लन्डनबाट एमएस्सी गरेका उनले सुरुमा उनले पोखरा लामाचौरस्थित नेपाल आदर्श विद्यालयमा पढाउन थालेका थिए। दुई वर्ष पढाएर उनी पुनः बेलायत फर्किए। त्यसको ६ महिनापछि मिसनले उनलाई फेरि गोरखाको अमरज्योति स्कुलमा पठायो। उक्त विद्यालयमा उनले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईसँगै स्वर्गीय डा. उपेन्द्र देवकोटालाई पढाएका थिए।
चार वर्षको गोरखा बसाइपछि उनी काठमाडौं गएर आनन्दकुटीमा पढाउन थाले। आन्दकुटी हुँदै उनी त्रिभुवन विश्वविद्यालयसँग ६ वर्षे सम्झौता गरी प्राकृतिक विज्ञान संग्रहालयका लागि काम गर्न थाले।
सधैँ पुतली पछ्याउने भएकाले उनलाई बालबच्चाले ‘पुतलीबाजे’ भनेर बोलाउँथे। बालबच्चाको त्यही नाम नै उनलाई नेपालमा चिनाउन काफी रह्यो। १९९३ मंसिर ९ मा बेलायती राष्ट्रियतामा जन्मेका उनी ८७ वर्षको उमेरमा नेपाली नागरिक भएर नेपालमै अस्ताए।
नेपालमा पुतली खोजीमा उनले झन्डै पाँच दशक बिताए। विभिन्न ठाउँमा संग्रहालय खोल्न उक्साए। उनै पुतली बाजेका कारण नेपालमा पाइने पुतलीबारे अध्ययन भयो।
पोखराका फोटो सङ्कलक सुनिल उलक र पुतलीबाजेबीच करिक साढे ३ दशकअघि नै चिनजान भयो। अध्यापनसँगै पुतली संकलनमा रुचि राख्ने उनी स्मिथले पछिल्ला वर्ष भने उनले कुनै जागिर गर्दैनथे। आफ्नै रकमले उनले खर्च जोहो गरेका थिए।
२०२३ मा पोखरामा पृथ्वीनारायण क्याम्पस खुलेपछि त्यही परिसरमा अन्नपूर्ण नेचुरल हिस्ट्री म्युजियम पनि खुल्यो। पछि त्रिभुवन विश्वविद्यालयसँगको सम्झौताबमोजिम कोलिन विभिन्न जिल्लाको भ्रमणमा गएर पुतली संकलन गर्न थाले। ‘त्रिविले बजेट दिएपछि कोलिनले नेपाल टुर गरेका थिए। पुतली संकलन भयो,’ उलकले भने, ‘पुतली संकलन मात्र गरेनन् कि ती पुतलीको प्रजाति पनि छुट्याइयो।’
परियारका अनुसार नेपालमा ६ सय ६० प्रजातिका पुतली पाइने गरेको कोलिनकै संकलनले पुष्टि भएको हो। विश्वमा १७ हजार ५ सय प्रजाति पुतलीमध्ये ६ सय ६० प्रजाति नेपालमा पाइने गरेको कोलिनकै संकलनले देखाएको उलकले बताए। ‘पुतली संकलनमा कोलिनको योगदान निकै नै छ। यो आगामी दिनमा अरू विद्यार्थीका लागि अध्ययन गर्ने ठाउँ बनेको छ,’ उनले भने।
कोलिनको संग्रह नै नेपालमा पुतली अध्ययन गर्ने थलो बनेको उनले बताए। ‘कोलिनले जे जति पुतली जम्मा गरे, ती पुतलीको फोटो खिचेर पनि राखेका छन्,’ उलकले भने, ‘पुतलीको फोटो कसैलाई काम लागेमा दिनुहोला भन्नुभएको छ। किताब छाप्छु भन्नेका लागि त्यो संग्रह काम लाग्न सक्छ।’
कोलिन जीवितै पुतली संकलन गर्थे। तर, संरक्षणका लागि राख्ने भन्दै मरेपछि पनि नकुहिने गरी सुरक्षित गरिदिन्थे। उनले थुप्रैलाई पुतली जम्मा गर्न र संकलन गर्न सिकाएका छन्। त्यसबारे अध्ययन गर्न पनि कैयौँलाई सिकाए।

विगत एकवर्षदेखि विभिन्न रोगले थलिएका थिए। पोखराको पृथ्वीनारायण क्याम्पस परिसरमा अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)ले सञ्चालन गरिरहेको अन्नपूर्ण पुतली संग्रहालय छ। जहाँ पुतलीका ५८७ प्रजाति छन्।
त्यही संग्रहालयका वरिष्ठ सहायक सुरेन्द्र परियारका अनुसार कोलिनको मुख्य योगदान नै पुतली संग्रहालयमा रहेको छ। २०२२ मा पोखरा आएदेखि कोलिनले पुतली संकलन गर्न थालेका थिए। उनले त्यो बेला संकलन गरेका पुतली अहिले पनि संग्रहालयमा रहेको परियारले बताए। ‘२०२२ सालदेखि नै पुतली राख्न थाल्नुभएको हो। त्यो बेला नै राखेका पुलती अहिले पनि जस्ताको त्यस्तै छन्,’ परियार भन्छन, ‘अन्नपूर्ण पुतली संग्रहालयमा नेपालमा पाइने ५ सय ८७ प्रजातिका पुतली छन्।’
त्यही पुतली संग्रहालय अहिले अनुसन्धान केन्द्र नै बनेको छ। विदेशीका लागि पर्यटकीय क्षेत्र बनेको छ भने पुतली बुझ्न खोज्नेका लागि अनुसन्धान थलो बनेको परियार बताउँछन्। पुतली संग्रह गर्न सकिने रहेछ भन्ने पुष्टि गर्न पनि कोलिन सफल भएको उनले बताए।
‘अध्ययन अनुसन्धानदेखि मनोरञ्जन र शिक्षा लिन खोज्नेका लागि पुतली संग्रहालय गजबको सम्पत्ति बनेको छ। कोलिनको शरीर भौतिक रूपमा नभए पनि उनको योगदान सधैंका लागि रहनेछ,’ परियारले भने, ‘एकजना विदशीले नेपाली बनेर नेपालका लागि छाडेको चिनो अहिले पोखरामा छ।’


