पोखरा- इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले व्यक्तिगत सम्पत्ति नै बचतकर्तालाई प्रदान गर्ने घोषणा गरेका छन्। मंगलबार साँझ फेसबुक लाइभ गरी विज्ञप्ति सार्वजनिक गर्दै उने व्यक्तिगत सम्पत्ति विवरण सार्वजनिक गर्दै बचतकर्तालाई रकम फिर्ता गर्ने घोषणा गरेका हुन्।
पोखरा र बागलुङमा सहकारीमार्फत २ अर्बभन्दा बढी ठगी गरेको आरोपमा प्रहरीले खोजी सुरु भएपछि फरार रहेका मेयरले यस्तो घोषणा गरेका हुन्।
बागलुङको ढोरपाटन नगरपालिकाको मेयरमा नेकपा एमालेका तर्फबाट दोस्रो पटक मेयर जितेका नेपालीले आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की आएका कारण फरार हुन परेको उल्लेख गरेका छन्।
‘६ लाख बचत भएका व्यक्तिहरूले ५ करोडको घर जग्गा मेरो नाममा पास गरिदिन भनेर दबाब दिएका कारणले म केही समयको लागि घरबाहिर बस्न बाध्य भएँ,’ उनले विज्ञप्तिमा भनेका छन्।
खातामा १० हजार हुनेले १० लाखको निवेदन दिएको र ५० लाख फिक्स्डमा भएकाले ९० प्रतिशत कर्जामार्फत् फिर्ता लगेर पनि ५० लाखकै दाबी गरेको उनको आरोप छ। २ अर्ब डिपोजिट भएको हल्ला निराधार भएको उनको जिकिर छ। कर्मचारीले मनोमानी तरिकाले कर्जा लगानी गरेर आफूमाथि दोष थोपरिएको समेत उनको आरोप छ।
सहकारीको बचत फिर्ता गर्न आफूले ६ महिनाको समय माग्दासमेत बचतकर्ता पर्खन नसकेको, धम्की दिएको र केही बचतकर्ताले मुद्दा हालेकाले बाहिर निस्केर काम गर्न नसकेको उनले जिकिर गरेका छन्।
विज्ञप्तिमार्फत् आफ्नो र श्रीमती छेला नेपालीका नाममा रहेका घरजग्गा बचतकर्तालाई हस्तान्तरण गर्ने र यसका लागि वातावरण मिलाइदिन पनि अनुरोध गरेका छन्।
नेपालीले बुर्तिबाङ, बागलुङ बजार, पोखरा र काठमाडौंमा गरी ४५ कित्ता जमिन र १८ वटा घर भएको उल्लेख गरेका छन्।
घरजग्गा विवरणमा उनले बुर्तिबाङमा २९ वटा कित्ता जग्गा रहेको र ३ वटा होटल रहेको बताएका छन्। बुर्तिबाङमा ८ तला अग्लो होटल दरबार, ४ तलाको मिनी होटल दरबार र ४ तलाकै होटल दरबार रेस्टुरेन्ट रहेको उल्लेख गरेका छन्।
यस्तै, बागलुङ बजारमा ४ वटा कित्ता जग्गा र २ वटा भवन रहेको बताएका छन्। बागलुङ बजारमा रहेको कर्म कम्प्लेक्स ६ तला र मिनी कर्म कम्प्लेक्स ५ तलाको भवन रहेको उल्लेख गरेका छन्। पोखरामा ६ कित्ता जमिन रहेको र ३ वटा भवन रहेको बताएका छन्।
पोखराको सिर्जनाचोकमा कर्म कम्प्लेक्स ९ तला, शिवालय चोकमा ५ तला र पृथ्वीचोकमा घर भएको पनि उनले बताएका छन्।
काठमाडौंमा ५ कित्ता जमिन र ६ वटा भवन रहेको उनले बताएका छन्। काठमाडौंको सुकेधारामा सानिमा बैंक भएको घरसहित ४ वटा घर, सुकेधारामै बजाज शोरुम भएको घर र सुकेधारामा कर्म कम्प्लेक्स रहेको उनले बताएका छन्।
‘सहकारीको समस्या समाधान गर्न मेरो र मेरो श्रीमतीको नाममा भएका घर जग्गा विभिन्न मालपोत कार्यालयमा गई हस्तान्तरण गर्न चाहन्छु, हस्तान्तरणको वातावरण मिलाइदिनुहुन सरोकारवाला ज्युहरूलाई अनुरोध गर्दछु,’ उनले विज्ञप्तिमा भनेका छन्।
बागलुङका सहकारी पीडितले दिएका निवदेनका आधारमा १ हजार ४ सय ८१ जना बचतकर्ताको १ अर्ब ३० करोड ठगी आरोप लागेको छ। उक्त मुद्दा अहिले जिल्ला अदालत बागलुङमा विचाराधीन छ।
यस्तै, पोखरामा ५ सय बढी बचतकर्ताको ६५ करोडभन्दा बढी रकम ठगीको आरोप छ। पोखरामा सहकारी ठगी आरोपमा जिल्ला अदालत कास्कीमा मुद्दा विचाराधीन छ।
अदालतमा मुद्दा विचाराधीन भएकाले ढोरपाटनका मेयर एवं सहकारी अध्यक्ष नेपालीले प्रस्ताव गरे अनुसार पीडितलाई सम्पत्ति हस्तान्तरण हुन भने कठिन छ। नेपालीले तिर्नुपर्ने बिगो र कारबाही अदालतको फैसलाले मात्र गर्न सक्ने देखिएको छ।
बचत अपचलन मुद्दामा बिगो अनुसारको जरिवाना र अधिकतम १० वर्ष कैद सजायको कानुनी व्यवस्था छ।




