तेल अबिब- इजरायली मन्त्रिपरिषद्ले बन्धकहरूलाई रिहा गर्नका लागि हमाससँग सम्झौता गर्ने निर्णय गरेको छ। अक्टोबर ७ मा इजरायली क्षेत्रमा प्रवेश गरी हमासले २ सयभन्दा बढी व्यक्तिलाई बन्धक बनाएपछि उनीहरुको रिहा गर्नका लागि हमाससँग सम्झौता गर्ने निर्णय गरेको हो।
केहीबेर अघि सम्पन्न मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको बीबीसीले समाचार बनाएको छ। यसअघि हमाससँग सम्झौता गर्ने या नगर्ने विषयमा मन्त्रिपरिषद्मा मतविभाजन भएको थियो। मतविभाजनपछि इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले बन्धक रिहा गर्न सम्झौता गरिएपनि हमासमाथिको कारबाही रोक्न नहुने बताएका छन्।
इजरायली संञ्चार संस्था टाइम्स अफ इजरायलका अनुसार अबका ४ दिनमा हमासले ५० जना बन्धकलाई रिहा गर्नेछ। हमासले बालबालिका र महिलालाई प्राथमिकतामा राखेर रिहा गर्ने उक्त सञ्चार संस्थाले उल्लेख गरेको छ। तर को-को रिहा हुनेछन् भन्ने खुलाइएको छैन।
हमासले ५ दिनसम्म युद्धविराम गरे बन्धक रिहा गर्ने प्रस्ताव गर्दै इजरायली पक्षलाई पत्र पठाएको थियो। यो विषय हमासका नेताले एएफपीलगायतका सञ्चार संस्थालाई जानकारी पनि दिएका थिए। हमास पक्षले यसअघि नै सम्झौताका लागि अन्तिम बिन्दुमा पुगिएको उल्लेख गरेको थियो। तर इजरायली पक्षले भने यो विषयमा सार्वजनिक रूपमा कुनै पनि विषय उल्लेख गरेको थिएन।
हमासले बन्धक बनाएकामध्ये अधिकांश इजरायली नागरिक हुन्। तर यसमा थुप्रै जना विदेशी नागरिक पनि रहेका छन्।
हमासले नेपालका विपीन जोशीलाई पनि बन्धक बनाएको छ। उनी अक्टोबर ७ मा गाजाको अलशिफा अस्पतालको सीसीटीभी फुटेजमा देखिएको भन्दै इजरायली सेनाले सीसीटीभी फुटेज सार्वजनिक गरेको छ।

तर उनको हालको अवस्था भने अज्ञात छ। तर नेपालको परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले भने जोशी सकुशल रहेको जानकारी सोमबार गराएकी थिइन्। उता इजरायलस्थित नेपाली दूतावासले भने जोशीको पछिल्लो अवस्थाका विषयमा कुनै पनि जानकारी नभएको विज्ञप्तिमार्फत् जानकारी दिएको थियो।
हमासले अक्टोबर ७ मा युद्ध छेडेपछि यो पहिलो पटक भएको दोहोरो सम्झौता हो। उता गाजा क्षेत्रमा इजरायलले गरेको आक्रमण परी १४ हजार मानिसको मृत्यु भएको बीबीसी समाचारमा उल्लेख छ। अक्टोबार ७ को हमास आक्रमणमा परी १२ सय जनाभन्दा बढीको मृत्यु भएको थियो। हमास आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो। उनीहरू सबैको शव नेपाल आइपुगेको छ।


