काठमाडौं- २०७२ को भूकम्पले क्षति पुर्याएको सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यकक्ष रेट्रो फिटिङ गरी उद्घाटन गरिएको छ।
नवनिर्मित कार्यकक्षमा प्रवेश गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नवनिर्मित कार्यकक्षमा दिमाग फुर्ने उल्लेख गरेका छन्।
‘हामी पछाडिबाट अगाडि आएका हौं। मलाई यसअघिको ठाउँमा बस्दा अलि गुम्म लाग्नुका साथै त्यति ताजकी महशुस नभए जस्तो लाग्थ्यो। यो ठाउँमा आउँदा चैं अलिकति सबैतिर हेर्न पाइने भएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘बरन्डामा पनि निस्केर हेर्न मिल्ने र फराकिलो सबै कारणले यहाँ दिमाग अलि बढी फुर्छ होला भन्ने मैले महशुस गरेको छु।’
१२० वर्ष पुरानो भवनको मूल संरचना जस्ताको तस्तै राखेर पुनर्निमाण भएकोमा उनले सम्बन्धित पक्षलाई धन्यवाद दिए। ‘भूकम्पबाट क्षति भएको यस भवनको रेट्रोफिटिङको काम पनि पुरा भएको छ। हामी पछाडिबाट अगाडि आएका हौं,’ प्रचण्डले भने।








