काठमाडौँ- राष्ट्रिय सभाको निर्वाचनका लागि प्रदेश सांसको मतभार बढेको छ। यसअघिको निर्वाचनमा २०६८ को जनगणनालाई आधार मानेर निर्वाचन भएको तर २०७८ को तथ्यांकसमेत सार्वजनिक भइसकेकाले उक्त तथ्यांकलाई आधार मान्दा प्रदेश सभा सांसद र पालिका प्रमुख तथा उपप्रमुखको मतभार बढेको हो।
अब प्रदेश सभा सदस्यको मतभार ५३ र पालिका अध्यक्ष/उपाध्यक्ष/प्रमुख/उपप्रमुखको लागि १९ मतभार कायम हुने निर्णय आयोगले गरेको हो। यसअघी राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेश सभा सदस्यको ४८ र पालिकाका अध्यक्ष/उपाध्यक्ष/प्रमुख/उपप्रमुखको मतभार १८ कायम गरिएको थियो।
राष्ट्रिय सभाका एक तिहाइ सदस्यहरूको पदावधि २०८० फागुन २० गते समाप्त हुन लागेको छ। राष्ट्रिय सभा सदस्य निर्वाचन ऐन, २०७५ बमोजिम पद रिक्त हुनुभन्दा ३५ दिन पहिले निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था छ। सोही निर्वाचनका लागि मतभार कायम गरिएको हो।
राष्ट्रिय सभाको निर्वाचनमा मतदानमा प्रदेश सभाका सदस्य र गाउँपालिकाका अध्यक्ष तथा उपाध्याक्ष र नगरपालिकाका प्रमुख तथा उपप्रमुखको मतदाता हुने व्यवस्था छ।



