सिमरा- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले काठमाडौँमा भइरहेको आन्दोलनलाई दबाउन सरकारले गरेको धरपकड लज्जास्पद रहेको बताएका छन्। बाराको निजगढमा शुक्रबार साँझ आयोजित जनसभालाई सम्बोधन गर्दै लामिछानेले स्वतन्त्र रुपमा हिँडेका नागरिक समाउँदै थुनेको घटना लज्जास्पद् रहेको बताए।
लोकतन्त्रमा प्रदर्शन र विरोध गर्न पाउने अधिकार रहेको भन्दै लामिछानेले सरकार डराएको देखेर आफू लज्जित भएको समेत बताए। ‘म प्रदर्शनको पक्ष र विपक्षमा छैन। तर स्वतन्त्र हिँडेका मानिसलाई समाउँदै थुन्दै गरेको देखियो। लोकतन्त्रमा यो ल्याउछु त्यो ल्याउँछु भन्न पाइन्छ। बन्देज लगाउने कार्य लज्जास्पद् छ,’ लामिछानेले भने, ‘सरकार किन डराएको होला? यति धेरै दलहरु मिलेर बनेको शक्तिशाली सरकार डराएको देखेर म लज्जित छु।’
आफ्नो हातबाट शासनसत्ता फुस्किने र आफ्नो कर्तुत जनताले थाहा पाउने भएका कारण सरकार डराएको लामिछानेको तर्क थियो। उनले गल्ती नगरेसम्म डराउन पर्ने अवस्था नआउनेसमेत बताए।
आफू दुर्गा प्रसाईंको समर्थक वा प्रशंसक नभएको बताउँदै लामिछानेले सहकारी, लघुवित्त र बैंकको चर्को ब्याजबाट पीडित जनताको ज्यानमा तलमाथि नहोस् भन्ने पक्षमा रहेको बताए। लामिछानेले व्यवस्था फ्याल्नेभन्दा पहिला भष्टाचार र भष्टाचारीलाई फाल्यो भने आधा समस्या समाधान हुने बताए।
वर्तमान सरकार लोकतन्त्र जोगाउनेतर्फ नभई जेल भित्र रहेका र जेल जान लागेका आफ्ना मान्छे, कार्यकर्ता जोगाउन केन्द्रित रहेको आरोप लगाए। लामिछानेले देश नेता उत्पादन गर्ने कारखाना मात्रै बनेको बताए।
‘देशमा रहेका कलकारखाना बन्द छन्। चलिरहेका कारखाना समेत बन्द हुने अवस्थामा पुगेको छ,’ लामिछानेले भने, ‘भएभरका कारखाना बन्द भएको यो देश अहिले नेता उत्पादन गर्ने कारखानामात्रै बनेको छ।’
पछिल्लो निर्वाचनमा रास्वपाले जनताको मत प्राप्त गरेपनि उक्त मत पर्याप्त नहुँदा परिवर्तनको पक्षमा काम गर्न असहज भइरहेको बताए।
जनसभामा रास्वपा उपसभापति डोलप्रसाद अर्याल, प्रतिनिधिसभा सदस्य मनिष झा, पूर्व बैंकर एवं रास्वपा प्रशिक्षण विभाग प्रमुख अनिल केशरी शाह, केन्द्रीय सदस्य दीपक बोहोरा, मधेस प्रदेश सभापति तपेश्वर यादव, जिल्ला संयोजक चन्दनकुमार स्वर्णकारण, बारा क्षेत्र नं. १ का उपसभापति नेत्रबहादुर कार्की, निजगढ नगर सभापति रामहरी खरेललगायतको उपस्थिति थियो।


