पर्वत- रोजगारीका लागि पोर्चुगल पुगेका कुश्मा नगरपालिका–१३ खौलाका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारको क्रममा मृत्यु भएको छ।
६ महिना अगाडि पोर्चुगल पुगेका क्षेत्रीमाथि एउटै कोठामा बस्दै आएका नेपाली साथी (रुममेट) बाटै छुरा प्रहार हुँदा ज्यान गएको हो।
स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका–१२ पेल्काचौरका ३० वर्षीय लोकेन्द्र गुरुङले कार्तिक २९ गते छुरा प्रहार गरेका थिए। सामान्य भनाभनमै गुरुङले क्षेत्रीमाथि छुरा प्रहार गरेर घाइते बनाएका थिए।
पोर्चुगलमा रहेका नेपाली रमेशराज बास्तोलाका अनुसार उपचारका क्रममा धनबहादुरको बिहीबार मृत्यु भएको हो।
धनबहादुरका छिमेकी कुलबहादुर केसीले टिफिन बक्समा खाना राख्ने विषयमा विवाद हुँदा गुरुङले क्षेत्रीमाथि छुरा प्रहार गरेको सुन्नमा आएको बताए।
खौलाका वडाध्यक्ष तेजप्रसाद शर्माका अनुसार धनबहादुर करिब डेढ वर्ष अगाडि घरबाट क्रोएसिया पुगेका थिए। त्यहाँबाट करिब ६ महिना अगाडि मात्र पोर्चुगल पुगेका थिए।
मृतक क्षेत्रीका तीन छोरा र एक छोरी छन्।


