उर्लाबारी- मोरङको उर्लाबारी आगलागी घटनाका अर्का एक घाइतेको मृत्यु भएको छ।
उर्लाबारी नगरपालिका वडा नम्बर ७ का ६८ वर्षीय रुकुम बहादुर कार्कीको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको उर्लाबारी प्रहरीले जनाएको छ।
काठमाडौँको कीर्तिपुर वर्न अस्पतालमा उपचाररत कार्कीको शरीरको करिब ४० प्रतिशत भाग जलेको थियो।
योसँगै उक्त घटनामा परी ज्यान गुमाउनेको संख्या ४ पुगेको छ।
मंगलबार बिहान उपचारको क्रममा उर्लाबारीका ४३ वर्षीय तपन पण्डित मृत्यु भएको थियो। उनको शरीरको ६० प्रतिशत भागमा जलन भएको थियो।
त्यस्तै, उर्लाबारीकै ५० वर्षीय हेमकुमार दाहालको पनि बिहीबार बिहान मृत्यु भएको थियो। उनको ५० प्रतिशत भाग जलेको थियो।
अर्का घाइते ५० वर्षीय कुमार तामाङको पनि बिहीबार बिहान मृत्यु भएको थियो। तामाङको शरीरको ६५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।
गत कार्तिक २६ गते मोरङको उर्लाबारी–७ बरगाछीस्थित दीपक कार्कीको घरमा आगलागी हुँदा निभाउन गएका चारजना प्रहरीसहित २७ जना घाइते भएका थिए।


