काठमाडौं- श्रीलंकाले हम्बनटोटा बन्दरगामा चिनियाँ ऊर्जा कम्पनी सिनोपेकलाई प्लान्ट स्थापना गर्न दिइने भएको छ। श्रीलंकाले सिनोपेकलाई ४.५ अर्ब डलरको पेट्रोलियम रिफाइनरी प्लान्ट स्थापना गर्न अनुमति दिएको हो। रणनीतिक रूपमा महत्वपूर्ण मानिएको बन्दरगाहमा चिनियाँ कम्पनीलाई प्लान्ट खोल्न दिइएको विषयमा चासो बढेको छ।
सिनोपेक जुलाईमा श्रीलंकाको बजारमा प्रवेश गरेको थियो। यसको आगामी प्लान्ट श्रीलंकाका लागि ४.५ अर्ब डलरको सबैभन्दा ठूलो विदेशी प्रत्यक्ष लगानी (एफडीआई) हुने उर्जामन्त्री कञ्चना विजेसेखेराले बताइन्।
मन्त्रिपरिषद्ले सोमबार चीनको सिनोपेकलाई हम्बनटोटा बन्दरगाहमा नयाँ पेट्रोलियम रिफाइनरी प्लान्ट स्थापना गर्न स्वीकृति दिएको हो।
हम्बनटोटा कोलम्बो बन्दरगाहपछि श्रीलंकाको दोस्रो ठूलो बन्दरगाह हो। यो बन्दरगाह २०१० मा खोलिएको थियो र सन् २०१७ देखि श्रीलंका बन्दरगाह प्राधिकरण र हम्बनटोटा अन्तर्राष्ट्रिय बन्दरगाह समूह भनेर चिनिने चाइना मर्चेन्ट पोर्ट्स बीचको संयुक्त लगानीमा व्यवस्थापन गरिएको छ।
यो बन्दरगाह चीनको एक्जिम बैंकले व्यावसायिक ऋणमा निर्माण गरेको हो। श्रीलंकामा चीनको ठूलो लगानी सरकारी स्वामित्वको चाइना मर्चेन्ट्स पोर्ट होल्डिङ्सलाई २०१७ मा हम्बनटोटा बन्दरगाहमा ९९ वर्षको भाडामा र कोलम्बो बन्दरगाहमा लजिस्टीक र भण्डारण हब निर्माण गर्न अर्को सम्झौता गरिएको थियो।


