काठमाडौं – सात प्रहरी उपरीक्षक (एसपी) पदमा १२ प्रतिस्पर्धी भएपछि बढुवा प्रक्रिया लम्बिएको छ।
न्यून सिट संख्यामा प्रतिस्पर्धी बढी भएका कारण प्रहरी प्रधान कार्यालयलाई बढुवामा सकस परेको छ।
अहिले प्रहरी उपरीक्षक रिक्त संख्या सात रहेको छ। बढुवामा १२ जना डिएसपीहरू प्रतिस्पर्धामा छन्।
यी १२ जनै बढुवाका दाबेदार हुन्।
बढुवामा प्रदीपबहादुर क्षेत्री, अंगुर जिसी, ढकेन्द्र खतिवडा, यादव ढकाल, श्यामबाबु ओलिया, नारायण रन्जितकार र निरन्जनदत्त भट्ट छन्।
उनीहरूपछिका डिएसपी राजन लिम्बु, सन्तोष तामाङ, एकनारायण कोइराला, अनन्तराम शर्मा र विनोद घिमिरे (क) पनि बढुवाका प्रतिस्पर्धी हुन्।
उनीहरूमध्ये तीन जना पूर्वप्रधानमन्त्री केपी ओली र हालका प्रधानमन्त्री पुष्पकमल दाहालका पूर्वपिएसओ हुन्।
१२ नम्बरमा रहेका डिएसपी घिमिरे दाहालका पूर्वपिएसओ हुन्। उनी यसअघिकै बढुवामा छुटेका अधिकृत हुन्।
यस्तै, राजन लिम्बू र सन्तोष तामाङ ओलीका पूर्वपिएसओ हुन्। उनीहरू राजनीतिक वृत्तमा दबाब बढाउन सक्ने क्षमता राख्छन्।
लिम्बू ८ र तामाङ ९ नम्बरमा भए पनि बढुवाको प्राथमिक सूचीमा पर्छन्।
‘अहिले यति नम्बरमा उति नम्बरमा भन्ने कुरा एक ठाउँमा भए पनि बढुवामा १२ जनै प्रतिस्पर्धी हुन्,’ एक अधिकृतले भने, ‘बढुवामा आफ्नो दाबी पेश गर्नु स्वाभाविक रहन्छ।’
यसअघिको बढुवामा घिमिरे, तामाङ र लिम्बूलाई ‘पिएसओ बसेको’ ट्याग लागेका कारण छुटेका थिए।
क्षेत्री, जिसीलगायत भने अब्बल भइकन पनि समेटिन सकेका थिएनन्।
एसपीबाट एसएसपी भएका अधिकृतहरूले दर्ज्यानी चिन्ह लगाएर पदस्थापन भइसके पनि यो बढुवा भने हुन सकेको छैन।
मंसिर पहिलो साता नै बढुवा गर्ने तयारी भए पनि प्रहरी महानिरीक्षक कुँवरले सकेका छैनन्। उनी मंसिर १० गते इन्टरपोलको महासभामा सहभागी हुन अष्ट्रियातर्फ गएका छन्।
उनी नफर्किकन बढुवा प्रक्रिया अघि नबढ्ने प्रहरी महानिरीक्षकको सचिवालयले जनाएको छ। ‘मंसिर अन्तिमसम्ममा बढुवा हुन सक्छ, हुनुपर्ने हो,’ सचिवालयका एक अधिकृतले भने।
सात संख्यामा जो-जो परे पनि पाँच जना डिएसपी छुट्ने निश्चित छ।
साधारणतया प्रहरी उपरीक्षक बढुवा महानिरीक्षकको तजबिजी अधिकार हो। १२ बाहेक अन्य केही केही शक्तिशाली डिएसपीहरूले राजनीतिक दबाब बढाएका कारण कुँवरलाई समस्या परेको सचिवालय स्रोत बताउँछ।
प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक कुबेर कडायतले बढुवा प्रक्रिया चलिरहेकाले कहिले हुने भन्ने टुंगो नरहेको बताए। अहिले प्रहरी प्रमुख विदेशमा रहेका कारण उनी नफर्किकन बढुवा हुने सम्भावना नरहेको उनले बताए।
एक अधिकृतले सबैको कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा हुनुपर्ने तर्क गरे। ‘सबैको ट्रयाक रेकर्ड र नम्बर हेरेर मूल्यांकन भइकन बढुवा होस् भन्ने हो,’ ती अधिकृतले भने, ‘बढुवामा पारदर्शीता अपनाउने हो भने संख्याका आधारमा होइन, कार्यसम्पादनका आधारमा हुनुपर्छ।’
गत २०८० वैशाख २९ गते २२ जना डिएसपीलाई एसपीमा बढुवा गर्दा पनि केही अब्बलहरू छुटेका थिए।
त्यो बेलाको बढुवामा केही विवादित डिएसपीहरू परेका थिए। उनीहरू सबै २०७२ भदौमा डिएसपीमा बढुवा भएका थिए।
त्यसअघि २०७९ असार २९ गते ३६ प्रहरी नायब उपरीक्षक (डिएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) बढुवा गरिएको थियो।
त्यो बढुवामा २०५८ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका २० जना र २०६१ सालमा प्रहरी निरीक्षकमा भर्ना भएका १६ जना समेटिएका थिए।
२०५८ सालको ब्याचबाट देवेन्द्रबहादुर पाल, सीताराम रिजाल, भीमकुमार बोगटी, सुमनकुमार तिम्सिना, सरोज पौडेल, विष्णुहरि कोइरालालगायत बढुवा भएका थिए।
तर, २०६१ सालको ब्याचका टेकुनन्द इवा लिम्बु, कोमल, शाह, नरेशराज सुवेदीलगायत बढुवा भए पनि अहिलेको बढुवाका दाबेदार छुटेका थिए।


