बुटवल- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी चुवान एक्लै लड्ने पर्ने बताएका छन्। बुटवलमा सुरु भएको पार्टीको लुम्बिनी प्रदेश भेलाको उद्घाटनमा बोल्दै थापाले यस्तो बताएका हुन्।
‘हामीले आगामी २०८४ को चुनावमा एक्लै लड्नुपर्छ, गठबन्धन गरेर होइन। हामीले हारे पनि एक्लै चुनाव लड्नुपर्छ, किन गठबन्धन गर्ने? सधैँ सोफामा बस्नु पर्ने हो र? केही समय चकटीमा बसे पनि केही हुँदैन,’ उनले भनेका थिए।
निर्वाचनमा समानुपातिक कोटाको दुरुपयोग भएको भन्दै त्यसलाई रोक्नपर्ने उनको भनाइ छ। समानुपातिक पद्धतिमा आफन्त र आफूनिकट राख्दा समस्या आएको बताए, ‘समानुपातिकमा कोही दाजु, कोही भाउजू भन्दा इमानदार नेता पछाडि परेका छन्,’
कांग्रेसभित्र इमानदार, सामाजिक व्यक्तिहरू धेरै रहे पनि त्यसलाई प्रयोग गरेर निर्वाचन जान नसकिएको स्वीकार गरे। उनले भने, ‘पार्टीभित्र गाउँ, सहर जहाँ पनि राम्रा कार्यकर्ता छन्। ती हाम्रा पुँजीलाई पार्टीले प्रयोग गर्न सकेन।’
प्रदेश संरचना खर्चिएको भएकाले त्यसलाई कम खर्चमा राम्रो सेवा दिने गरी प्रभावकारी बनाउनुपर्नेमा उनको जोड थियो।


