काठमाडौँ- नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई नेपाली कांग्रेसले सम्मान गरेको छ। कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनका क्रममा बुटबलमा कांग्रेसले खाणलाई सम्मान गरेको हो।
कांग्रेसका लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालले खाण लुम्बिनी प्रदेशको अभिभावक भएकाले सम्मान गरिएको बताए। खाणलाई दिइएको सम्मान उनका भाइ रामकृष्ण खाणले ग्रहण गरेका थिए। रामकृष्ण रुपन्देही जिल्ला कार्यसमितिका सभापति हुन्।
‘आदरणीय हाम्रा नेता, राजनीतिक रुपमा यस प्रदेशका अभिभावक, आर्थिक रुपमा राजनीतिक रुपमा जहिले पनि अभिभावकत्व निर्वाह गने दाजु आज हाम्रा सामु हुनुहुन्न बालकृष्ण खाँणज्यू, उहाँको सम्मानपत्र ग्रहण गरिदिनुहुन उहाँका भाइ एवं यस जिल्लाका पार्टी सभापति रामकृष्ण खाँणज्यूलाई हार्दिक अनुरोध गर्दछु,’ कार्यक्रम सञ्चालक खनालले कार्यक्रममा भनेका थिए।
रामकृष्णले सम्मान लिए। कांग्रेस सभापति शेरबहादुर देउवाले खाणलाई सम्मानपत्र र केन्द्रीय सदस्य शेखर कोइरालाले खादा ओढाइदिए।
मञ्चमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्री किशोरसिंह राठौर पनि थिए। यद्यपि खाणलाई सम्मान गर्दा उनीहरु उठेनन्।
कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका खाण २७ वैशाखमा पक्राउ परेका थिए भने १ असारमा जिल्ला अदालत, काठमाडौंले खाँणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाएको थियो।
पक्राउ गरेसँगै खाणलाई निलम्बन गर्नुपर्ने आवाज उठेको थियो। पुर्पक्षका लागि थुनामा गएपछि साउनमा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापासहितका केही नेताले निलम्बनको माग गरेका थिए। तर कांग्रेसले निलम्बन गरेन, बरु सम्मान गरेको छ।
पुर्पक्षका लागि थुनामा पठाउने आदेशविरुद्ध खाणसहितले गरेको पुनरावेदन निवेदनमा शुक्रबार उच्च अदालत, पाटनमा संयुक्त इजलासका न्यायाधीशबीच राय बाझिएको छ। अब तेस्रो न्यायाधीशको इजलासले खाणलाई रिहा गर्ने वा पुर्पक्षका लागि थुनामा राख्ने जिल्लाको आदेश सदर गर्नेछ।


