दोलखा- भरूवा बन्दुक पड्किँदा दोलखामा एक युवाको मृत्यु भएको छ। तामाकोशी गाउँपालिका वडा नम्बर २ झुलेस्थित जंगलमा २२ वर्षीय सञ्जिव कार्कीको शनिबार मृत्यु भएको हो।
जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी दीपक खड्काका अनुसार भरूवा बन्दुक लिएर कार्कीसहित ७ जना गए राति घरनजिकै जंगलमा सिकार खेल्न गएका थिए।
‘शनिबार बेलुकी करिब ११ बजेतिर सञ्जिवले भरूवा बन्दुक पड्काएको र आफैंलाई लागेको उनीसँगै गएका साथीहरूले बयानका क्रममा भनेका छन्,’ उनले भने, ‘घटनाबारे प्रहरीलाई गए राति करिब २ बजेतिर खबर आएको थियो।’
प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ। उनीहरूको नाम खुलाइएको छैन।
घटनास्थलमा प्रहरी पुगेर मुचुल्का गरी शव पोस्टमर्टमका लागि पशुपति चौलागाईं अस्पतालमा पठाएको छ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


