विराटनगर- कोशीका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीहरुलाई जिम्मेवारी दिएका छन्।
आइतबार मुख्यमन्त्री कार्कीले कांग्रेसबाट मन्त्री बनेका शमशेर राईलाई आन्तरिक मामिला तथा कानुन, माअेवादी केन्द्रबाट मन्त्री बनेका गणेश प्रसाद उप्रेतीलाई पर्यटन, वन तथा वातावरण र एकीकृत समाजवादीबाट मन्त्री बनेका कमल प्रसाद जबेगुलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका जिम्मेवारी दिएका हुन्।
२७ असोजमा कांग्रेसबाट नियुक्त भएका शमशेर राई, १७ कात्तिकमा नियुक्त भएका माओवादीका गणेश उप्रेती र कमलप्रसाद जबेगूले आइतबार मात्र जिम्मेवारी पाएका हुन्।
आर्थिक मामिला तथा योजना मन्त्रालय, उद्योग, कृषि तथा सहकारी मन्त्रालय, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी भने मुख्यमन्त्री कार्कीले आफैैंसँग राखेका छन्।
सरकार गठन भएको झन्डै दुई महिना पुग्नैलाग्दा कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रीलाई जिम्मेवारी दिन सकेका हुन्। तीन मन्त्री विनाविभागीय हुँदा मुख्यमन्त्री आठ मन्त्रालयको जिम्मेवारी मुख्यमन्त्री कार्कीको काँधमा थियो।
यसअघि एमालेका रामबहादुर मगर २२ दिन विनाविभागीय मन्त्री भएर बिदा भएका थिए। मुख्यमन्त्री कार्कीले गठबन्धन दलबाट माओवादी र एकीकृत समाजवादीलाई भित्र्याएपछि एमालेले मगरलाई फिर्ता बोलाएको थियो।


