काठमाडौँ- नयाँ बसपार्क तथा कलंकी क्षेत्रका होटल र गेस्ट हाउसहरूमा नाबालिकाहरूलाई यौनधन्दामा लगाएको आरोपमा एक युवती पक्राउ परेकी छिन्।
पक्राउ पर्नेमा तनहुँ भिमाद नगरपालिका-२ घर भई हाल काठमाडौं टोखा नगरपालिका-९ नयाँ बसपार्क बस्दै आएकी सपना तामाङ भन्ने २५ वर्षीया पूजा राना छिन्। उनी नयाँ बसपार्कस्थित पश्चिम लुम्बिनी गेस्ट हाउसकी सञ्चालिका हुन्।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ब्युरोको टोलीले उनलाई मंसिर १४ गते नयाँ बसपार्क क्षेत्रबाटै पक्राउ गरेको हो।
उनले सञ्चालन गरिरहेको गेस्ट हाउसबाट तीन जना नाबालिकाको उद्धार गरिएको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक कृष्णप्रसाद पंगेनीले बताए।
प्रहरीले कलंकीबाट एक जना र नयाँ बसपार्कबाट दुई जना नाबालिकाको उद्धार गरेको पंगेनीले बताए।
रानाले आर्थिक अवस्था कमजोर भएका ग्रामीण भेगका बालिकाहरूलाई काठमाडौं ल्याउने गरेको खुलेको छ।
बालिकाहरूलाई काठमाडौंमा धागो कात्ने, बच्चा हेर्ने र सरसफाइको काममा लगाइदिने भन्दै ल्याउने गरेको पंगेनीले बताए।
‘त्यसबापत् आकर्षक तलब-सुविधा दिने प्रलोभनमा पारेर बालिकाहरूलाई बोलाउने गरेको अनुसन्धानबाट पत्ता लागेको छ,’ पंगेनीले भने।
उनले त्यसरी बोलाइएका नाबालिकाहरूलाई बसपार्क र कलंकीस्थित विभिन्न होटल तथा गेस्ट हाउसहरूमा राख्ने गरेको खुलेको छ।
‘बालिकाहरूलाई विगत १० महिनादेखि विभिन्न डर-त्रास देखाएर जबरजस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको खुल्न आएको छ,’ पंगेनीले भने।
त्यसरी जबरजस्ती यौनधन्दामा लगाउन उनले ग्राहक खोज्ने गर्थिन्। ग्राहकबाट आर्थिक लाभ लिएर उनले अन्य होटल तथा गेस्ट हाउसहरूमा पठाउने गर्थिन्।
उद्धार गरिएका नाबालिकाहरूलाई अहिले सुरक्षित आवासमा राखिएको छ।
यस घटनामा संलग्न अन्य व्यक्तिहरूको खोजी भइरहेको पंगेनीले बताए।


