काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल`प्रचण्ड´आइतबार साँझ स्वदेश फर्किएका छन्। चारदिने संयुक्त अरब इमिरेट्सको भ्रमण गरी उनी स्वदेश फर्किएका हुन्।
प्रधानमन्त्रीलाई स्वागत गर्न सभामुख देवराज घिमिरे, परराष्ट्रमन्त्री एनपी साउदलगायत विमानस्थल पुगेका थिए। कोप-२८ मा भाग लिन प्रधानमन्त्री प्रचण्ड मङ्सिर १४ गते संयुक्त अरब इमिरेट्सको दुबई पुगेका थिए।
दुबईमा भएको कोप सम्मेलमा सहभागी हुन गएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विभिन्न कार्यक्रममा सहभागिता जनाएका छन्। सम्मेलनका मुख्य कार्यक्रमका साथै अन्य कार्यक्रममा पनि प्रधानमन्त्री सहभागी भएको उनको सचिवालयले जानकारी दिएको छ।
प्रधानमन्त्री प्रचण्डले शुक्रबार सम्मेलनको अनुकूलनसम्बन्धी उच्चस्तरीय इभेन्टमा किनोट स्पिकरका रूपमा सहभागी भएका थिए। यस्तै शनिबार हिमाल र जलवायु परिवर्तसम्बन्धी उच्चस्तरीय राउन्ड टेबल कार्यक्रममा प्रधानमन्त्री सहभागी भएका थिए।
शनिबारै सम्मेलनको उच्चस्तरीय सेगमन्टमा प्रधानमन्त्री दाहाल सहभागी भएका थिए। यस्तै आइतबार जलवायु परिवर्तन र पूर्वसावधानीसम्बन्धी सम्मेलनको अर्को सत्रमा मुख्य वक्ताका रूपमा प्रधानमन्त्री सहभागी भएको दाहालको सचिवालयले जानकारी दिएको छ।
१४ मङ्सिरमा प्रधानमन्त्रीले अबुधावीस्थित नेपाली राजदूतावासको भ्रमण गरी दूतावासका कर्मचारीहरुलाई सेवाप्रवाह चुस्त बनाउन र जनताका गुनासोलाई समाधान गर्न निर्देशन दिएका थिए।
युनाइटेड अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले अबुधावीस्थित होटेल सेराटनमा प्रधानमन्त्रीज्यूको सम्मानमा कार्यक्रम आयोजना गरेका थिए। उक्त कार्यक्रममा नेपाली समुदायको उपस्थिति थियो। त्यस कार्यक्रमलाई सम्बोधन पनि सोही दिन बिहानको समयमा गरेका थिए।
दिउँसो ३ बजे अबुधावीस्थित ग्रान्ड मस्कको अवलोकन भ्रमण गरेका प्रधानमन्त्रीले बेलुका साढे ६ बजे जनप्रगतिशील मञ्च युनाइटेड अरब इमिरेट्सले आयोजना गरेको अगुवा कार्यकर्ता भेटघाट बैठकलाई सम्बोधन गरेका थिए।
बेलुका साढे ७ बजे नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्बरद्वारा होटल र्याफल्समा संयुक्त रूपमा आयोजित दुबई बिजनेस समिटमा प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।
मंसिर १५ गते दिउँसो साढे १२ बजेको समयमा जलवायु परिवर्तन सम्बन्धी विश्व सम्मेलन (कोप २८) को नेपाली पेभेलियनको भ्रमण तथा सम्बोधन गरेका प्रधानमन्त्रीले सोही दिन साँझमा गणतन्त्र क्युबाका राष्ट्रपतिसङ्ग भेट गरेका थिए।
शनिबार बेलुकी दुबई फ्युचर पार्कको अवलोकन गरेका प्रधानमन्त्रीले आइतबार दिउँसो बेलायतका विदेश राज्यमन्त्री एन्ड्र्यु मित्सेलसँग भेट गरेका थिए। भेटमा नेपाल-बेलायत सम्बन्ध, जलवायु परिवर्तनका क्षेत्रमा सहकार्य, ब्रिटिस गोर्खाका विषयमा कुराकानी भएको प्रधानमन्त्री प्रचण्डले उल्लेख गरेका छन्।
कोप–२८ मङ्सिर १४ देखि २६ गते (नोभेम्बर ३० देखि डिसेम्बर १२ तारिख) सम्म दुबईमा सम्पन्न भएको छ।


