चितवन- पूर्व–पश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका–१२ मिलनचोकस्थित कल्भर्टमा भेटिएका दुई शवको अझै पहिचान नभएपछि प्रहरीले स्केच सार्वजनिक गरेको छ। मंसिर ६ गते जुटको बोराभित्र भेटिएको दुई शवको पहिचान हुन नसकेपछि प्रहरीले स्केच सार्वजनिक गरेको हो।
प्रहरीले मृतकहरुको अनुहारसँग अधिकतम मेल खाने गरी विशेषज्ञद्वारा तयार पारिएको स्केच फेसबुकमार्फत् सार्वजनिक गरेको हो। स्केचसहित मृतकहरुको हुलिया, शरीरमा भेटिएका चिजवस्तु, चिन्ह तथा कपडाहरुको विवरण सहितको फोटोबाट सनाखत हुन सक्ने भएकोले सार्वजनिक गरिएको चितवन प्रहरीले जनाएको छ।
प्रहरीले कोही कसैको परिवारका सदस्य, आफन्तजन तथा साथीसंगी हराइरहेको भएमा जानकारी गराउन पनि अनुरोध गरेको छ।
भरतपुर महानगरपालिका–१२ मंसिर ६ गते केरुङ्गा खोलामाथि बनेको कल्भर्टमा जुटको बोराभित्र महिला र पुरुषको शव भेटिएको थियो। जिल्ला प्रहरी कार्यालय चितवनले ७७ वटै जिल्ला र मातहतका निकाय तथा भारतमासमेत शवको प्रकृति र हुलियाका बारेमा जानकारी गराएको छ। तर शवको पहिचान हुन नसक्दा अनुसन्धान सुरु गर्न नसकिएको चितवन प्रहरीले जानकारी दिएको छ।
यसअघि पनि प्रहरीले मृतकको हुलिया पहिरनबारे जानकारी गराएको थियो। त्यसबाट पनि केही सूचना प्राप्त नभएपछि स्केच सार्वजनिक गरिएको हो।
घटनाका सम्बन्धमा डेढ सय जनाभन्दा बढीसँग विभिन्न ठाउँमा सोधपुछ गरिएपनि तर कतैबाट क्लू भेटाउन नसकिएको चितवन प्रहरीका अधिकारीको भनाइ छ।
एक जना व्यक्तिले मात्रै अन्यत्र हत्या गरेर त्यहाँ ल्याएर शव फाल्न नसक्ने प्रहरीको भनाइ छ। त्यसैले यसमा समूह नै सहभागी भएको अनुमान छ। यो ठाउँको अवस्थाका बारेमा बुझेको, जानेको, पहिला रेकी गरेर गएको व्यक्तिहरुले नै यहाँ ल्याएर शव राखेका हुन सक्ने प्रहरीको अनुमान छ।
पोस्टमार्टम गर्ने चिकित्सकहरुका अनुसार शव भेटिएको ४८ घण्टा अगाडि उनीहरुको हत्या गरेको हुन सक्ने बताएका छन्। पुरुषको मुखमा कानदेखि नै निलो टेप बाँधिएको अवस्थामा शव भेटिएको थियो। पुरुषको उमेर २४/२५ वर्ष हुन सक्ने आकलन छ। शवको जिउमा भित्री वस्त्र मात्र थियो।
महिलाको शवमा ढाकाको चोलो र प्याजी रंगको ट्राउजर थियो। महिलाको हातमा एस लेखिएको अवस्थामा फेला परेको थियो। महिलाको उमेर ३०/३१ वर्ष हुन सक्ने अनुमान गरिएको छ।
पुरुषको शरीरमा रहेका चिजवस्तु तथा चिन्हहरु :
१) वर्ण स्याम्लो
२) मझौला शरीर, उचाई ५ फिट ७ ईन्च, ठुलो निधार भएको
३) दाहिने हातमा रातो पहेलो पुजाको डोरा बाँधेको
४) SUPER DRY लेखिएको निलो रंगको कट्टु लगाएको
५) DURO 80 DOUBLE लेखिएको कलेजी रंगको पेन्टी लगाएको
६) RUPA FRONTLINE साईज 80 CM लेखिएको सेतो रंगको सेन्डो लगाएको
महिलाको शरीमा रहेका चिजवस्तु तथा चिन्हहरु :
१) बर्ण स्याम्लो
२) मझौला शरीर, उचाई ५ फिट ३ ईन्च भएको, हात खुट्टामा गुलावी रंगको नेल पोलिस लगाएको
३) बाया खुट्टामा कालो रंगको डोरा र दाहिने हातमा रातो पहेलो रंगको पुजाको डोरा बाँधेको
४) SIZE L लेखिएको प्याजी रङ्गको लेगिन्ज (सुरुवाल) लगाएको
५) रातो र पहेलो रङ्ग मिसिएको सल
६) रातो कलेजी रंगको पेन्टी लगाएको
७) माला (रातो डोरा सहित ) थान १ (एकापट्टि दुर्गा माता र अर्कोपट्टि मन्दिर जस्तो देखिने फोटो भएको)
८) कानमा झुम्का लगाएको
९) बाँया हातमा S. स्पष्ट लेखिएको त्यसपछिको अक्षर A, M वा Y जस्तो देखिने (अस्पष्ट ) अक्षर र चित्र आकार भएको ट्याटु रहेको
१०) ब्रा सेतो बुट्टा भको पहेंलो रंगको थान १
११) टप्स ढाकाको जस्तो बुट्टा भएको छिर्केमिर्के रंगको थान १


