धनकुटा- धनकुटा पाख्रीबास नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष देवेन्द्र गुरागाइँको घरमा अज्ञात व्यक्तिले आगो लगाइदिएका छन्। आइतबार बिहान १२:४८ बजेतिर वडाध्यक्ष गुरागाइँ ब्युझिँदा घरभित्र धुँवाको मुस्लो थियो।
ब्युँझने बित्तिकै घरमा आगो लागिरहेको थाहा पाएपछि आत्तिएका उनले पत्नीसहित बाहिर निस्कन खोजे। तर, धुँवाका कारण सम्भव भएन। छिमेकी गुहारे। छिमेकीहरूले भर्याङ लगाइदिएर झ्यालबाट देवेन्द्र र उनकी पत्नीलाई घरबाट निकाले।
‘पहाडको ढुंगा र माटोको घर भएकाले आगो सल्किन र फैलिन समय लागेर मात्रै हो नत्र हामी बाँच्न पनि कठिन हुने रहेछ’, गुरागाइँले भने, ‘हामीलाई बाहिरबाट ढोकामा ताल्चा लगाएर थुनिएको रहेछ।’
घरभित्रै थुनेर कसले आगो लगायो अहिलेसम्म केही खुलेको छैन। धनकुटाका एसपी कृष्णप्रसाद कोइरालाका अनुसार वडाध्यक्ष दम्पती घरको माथिल्लो तलामा सुतेका थिए। घरको भुइँतलामा भान्साकोठा थियो। भान्सामा आगो लगाइएको पाइएको उनले जानकारी दिए।
‘कसले र किन लगायो केही अनुमान गर्न सकिएकोको छैन,’ उनले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको छ।’ घरमा आगजनी गरेको आशंकामा प्रहरीले एक जनालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको एसपी कोइरालाले जानकारी दिए। नियन्त्रणमा लिइएका व्यक्तिको परिचय खुलाएको छैन।
आगलागीबाट भान्साकोठामा भएका सामानमा क्षति पुगेको छ। माथिल्लो तलामा भने आगोले नभेटेको उनले जानकारी दिए।
पाख्रीबासको डाँडाखर्कस्थित घरमा गुरागाइँ दम्पती मात्रै बस्थे। उनीहरूका छोराबुहारी काठमाडौं बस्छन्। उनी नेपाली कांग्रेसबाट निर्वाचित वडाध्यक्ष हुन्।


