मिजोरम– भारतीय राज्य मिजोरमको विधानसभा चुनाव जोरम पिपुल्स मुभमेन्ट (जेडपीएम)ले शानदार जित हात पारेको छ।
४० सिट रहेको विधानसभा चुनावमा सरकार बनाउनका लागि आवश्यक २१ सिटभन्दा पनि बढी २७ सिटमा जित हात पारेसँगै सत्तामा पनि उलटफेर भएको हो। जेडपीएमले बहुमतसँगै पूर्व आईपीएस अधिकारी लाल दुहोमा मिजोरममा मुख्यमन्त्री बन्ने पक्का भएको छ।
सत्तारुढ दल मिजो नेसनल फ्रन्टले जम्मा १० सिट मात्र जित हासिल गरेको छ। अघिल्लो पटकको चुनावमा २७ सिट जितेको यो दलका प्रमुख एवं मुख्यमन्त्री जोरमथंगा पनि चुनावमा पराजित बनेका छन्।
आइजोल इसट–१ क्षेत्रमा चुनावी प्रतिस्पर्धा गरेका जोरमथंगालाई जेडपीएमबाट मुख्यमन्त्रीका आकांक्षी लाल दुहोमाले हराएका हुन्।

लालदुहोमा।
चुनावमा नराम्रो हार खेपेसँगै जोरमथंगाले मिजोरमको मुख्यमन्त्री पदबाट पनि राजीनामा दिएका छन्। चुनावी नतिजाले मिजोरममा कांग्रेस र मिजो नेसनल फ्रन्ट कमजोर सावित भएका छन्।
कांग्रेसको १० वर्ष शासन तोड्दै १९९८ को विधानसभा चुनावमा मिजो नेशनल फ्रन्ट विजयी भएको थियो। यसपछि जोरमथंगा मुख्यमन्त्री बनेका थिए। उनले १० वर्ष शासन गरे। २००८ देखि २०१३ मा फेरि कांग्रेसको सरकार बनेको थियो। तर जोरमथंगा २०१८ मा फेरि सत्तामा फर्किएका थिए।
चुनावमा कांग्रेसले भारतीय जनता पार्टी (भाजपा) विरोधी मुद्दा उठाएको थियो। उसले मणिपुर संकटको मुद्दा पनि उठाएको थियो।
जम्मा २३ सिटमा उम्मेदवारी दिएको भाजपाले ६ स्थानमा मात्र विजय हात पारेको छ। कांग्रेस १ सिटमा सीमित भएको छ।


