काठमाडौँ – आज विश्व माटो दिवस मनाइँदै छ। यो वर्ष ‘माटो र पानी, जीवनको थालनी’ भन्ने नारा राखिएको छ। यो १०औँ विश्व माटो दिवस हो।
माटो विज्ञान अनुसन्धान केन्द्रले देशका विभिन्न जिल्लाबाट ३ हजार ४ सय बढी माटोको नमुना संकलन गरेको जानकारी दिएको छ। विश्व माटो दिवस २०२३ को अवसरमा संकलन गरिएको माटोको नमुना मध्यबाट २ जना किसानलाई सम्मान गरिने केन्द्रले जनाएको छ।
नेपाली माटोमा विषादीको प्रयोगले कडापन हुनु, माटोमा प्रदूषण हुनु, कृषि यन्त्रको प्रयोगले माटोको संरचना बिग्रिनु, भूक्षय, अम्लीयपन लगायतका समस्या रहेको केन्द्रको भनाइ छ। नेपालको ६६ प्रतिशत माटो अमलीय, पाँच प्रतिशत क्षारीय, २९ प्रतिशत माटो तटस्थ रहेको केन्द्रको भनाइ छ ।
माटो विज्ञान अनुसन्धान केन्द्रका अनुसार नेपालमा वार्षिक प्रतिहेक्टर १२ देखि १४ टन माटो बगेर जाने गरेको पाइएको छ। त्यसमा पहाडमा मात्र २० देखि ३० टन माटो बग्ने गरेको छ । १ दशमलव ४ एमएम माटोको माथिल्लो सतह बगेर जाने केन्द्रले जनाएको छ।
कृषि तथा पशुपन्छी विकास मन्त्रालयले ‘माटो र पानी, जीवनको थालनी’ भन्ने मूल नाराका साथ विभिन्न कार्यक्रम गरी शनिबारदखि ‘विश्व माटो दिवस २०२३’ मनाइरहेको छ। माटोको निःशुल्क जाँच शिविर तथा स्वच्छ माटोको आवश्यकतालगायतका विषयमा जानकारी गराउँदै यो दिवस मनाइरहेको हो ।
एफएओको सिफारिसमा संयुक्त राष्ट्र सङ्घको ६८ औँ महासभाको निर्णयले सन् २०१३ डिसेम्बर ५ देखि यो दिवस मनाउन सुरु गरिएको हो । नेपालमा सन् २०१४ डिसेम्बर ५ देखि औपचारिक रूपमा यो दिवस मनाउन सुरु गरिएको हो ।


