काठमाडौँ– जाजरकोटको बारेकोट केन्द्रबिन्दु बनाएर गत कात्तिकमा भूकम्प गयो। भूकम्पले मानवीय क्षति भएन। तर, अहिले बारेकोटमा १२ जनाको ज्यान गइसकेको छ। भूकम्पले लिन नसकेको बारेकोटका नागरिकको ज्यान चिसोले लिने गरेको छ।
भूकम्पले घर भत्काएपछि स्थानीय सबै त्रिपालमुनि बस्न थाले । एक एक महिनाको अवधिमा त्रिपालमुनि बसेका १२ जना स्थानीयले ज्यान गुमाइसकेका छन्। सोमबारबाट पानी पर्न थालेपछि अवस्था अझै जटिल भएको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले जानकारी दिए।
बारेकोटको उच्च स्थानमा हिमपात समेत भएको छ। अध्यक्ष गिरीका अनुसार त्यहाँको तापक्रम घटेको छ। पानी जम्ने अवस्थामा पुगेपछि पालमुनि बास भएकाहरूको अवस्था अझ दयनीय हुँदै गएको हो।
भौगोलिक रुपमा विकट भएकाले आवश्यक राहतको कमी भएको अध्यक्ष गिरीको भनाइ छ । उनले वृद्धवृद्धा र बालबालिका चिसोमा लगाउने तातो लुगाको कमी भएको जानकारी दिए ।
‘बालबालिका र बुढाबुढीलाई चिसोले बढी समस्या गर्छ,’ अध्यक्ष गिरीले भने, ‘हिउँ पर्ने बेला भयो, चिसो बढ्दै गएको छ, आवश्यक राहत कमी छ। अलि विकट भएर पनि होला राहत पुग्न सकेको छैन।’
भूकम्पको इपिसेन्टर रहेको बारेकोटमा उक्त समयमा ४ जना घाइतेमात्र भएका थिए । हालसम्म चिसोको कारण १ जना ६ महिनाका बालकसहित १२ जनाको ज्यान गएको छ ।


