काठमाडौं– नेपालमा २०७२ देखि सुरु भएको स्वास्थ्य बिमा कार्यक्रमको पहुँच मुलुकभर विस्तार भएको छ। हालसम्म स्वास्थ्य बिमा कार्यक्रम ७७ वटै जिल्लाका ७५३ मध्ये ७४८ स्थानीय तह (पालिका) मा विस्तार भएको हो।
बिमा बोर्डका अनुसार दुई महानगर काठमाडौं र ललितपुर तथा काठमाडौंका तीन नगरपालिका कीर्तिपुर, बूढानीलकण्ठ र नार्गाजुनमा बिमा सेवा विस्तार भएको छैन। बाँकी ५ नगरपालिकामा पनि यसै वर्षभित्र सेवा विस्तार गर्ने तयारी भइरहेको बोर्डका कार्यकारी निर्देशक डा. दामोदर बसौलाले बताए।
स्वास्थ्य बिमा कार्यक्रममा हालसम्म झन्डै ६५ लाख नागरिक सहभागी भएका छन्। तीमध्ये करिब २८ लाख ९३ हजारले बिमामार्फत स्वास्थ्य सेवा लिएका छन्। बिमा नवीकरण गर्ने ७० प्रतिशत रहेका छन्। देशभरका ४५६ स्वास्थ्य संस्थाबाट बिमाबापत प्राप्त गर्ने सेवा उपलब्ध रहेको बोर्डको भनाइ छ।
स्वास्थ्य बिमा कार्यक्रमबाट ७ वर्षमा ३३ अर्ब रुपैयाँ स्वास्थ्योपचारमा खर्च भएको बोर्डका कार्यकारी निर्देशक बसौलाले बताए। बिमा कार्यक्रममार्फत पाँच जनासम्मको परिवारको ३ हजार ५ सय बुझाएपछि घरमा रहेका सदस्यले वर्षभरि १ लाख रुपैयाँ बराबरको औषधोपचार सरकारले तोकेको अस्पतालमा निःशुल्क गर्न पाउँछन्।
पाँच बढी सदस्य भए प्रतिसदस्य थप २ सय रुपैयाँ बुझाउनुपर्छ। आज नेपालमा ‘तपार्ईंको स्वास्थ्य हाम्रो अठोट’ नारासहित सातौं स्वास्थ्य बिमा दिवस मनाइँदै छ।


