काठमाडौं– संघीय राजधानी रहेको काठमाडौं महानगरमा फोहोर व्यवस्थापन राजनीतिकै कारण गिजोलिँदै आएको छ। मनगरको नेतृत्वमा पुग्ने मेयरलाई सरकारमा रहने/बस्नेहरुले फोहोर राजनीतिक आवरण बनाएर अप्ठेरोमा पार्ने चलन पुरानै हो।
काठमाडौंका प्राचीन नदी, खोला किनारामा राजनीतिक दलका कार्यकर्ताबाट सुकुम्बासीका नाममा अनधिकृत कब्जा जमाउँदा बागमती सभ्यता नामेट हुने चरणमा छ। पछिल्लो समय गत वैशाखको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर महानगरको नेतृत्व सम्हालेका बालेन साह राजनीतिक दलको सिकार हुँदै आएका छन्।
मेयर बालेनले नेताहरुप्रति कटाक्ष गर्दै आजबाट सिंहदरबारको फोहोर नउठ्ने बताएका छन्। शनिबार बिहान फेसबुकमा स्टाटस लेख्दै मेयर बालेनले संहदरबारको फोहोर आजदेखि नउठ्ने जानकारी गराएका हुन्।
‘आजबाट सिंहदरबारको फोहोर उठ्दैन। साँच्चिकै देश सफा गर्नु परे त्यहाँका नेताहरूलाई सिसडोलमा डम्प गर्नुपर्ने हुन्छ,’ मेयर बालेनले फेसबुकमा लेखेका छन्।


