काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको सेवा प्रवाह सहज र सरलका साथै राम्रो हुनु पर्ने बताएका छनु। मुसीकोट नगरपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै अध्यक्ष ओली भवनमात्र राम्रो भएर नहुने भन्दै सेवा प्रवाहमा जोड दिन आग्रह गरेका थिए।
‘संकल्प यात्रा’को क्रममा गुल्मीको मुसीकोट नगरपालिका वामीमा भएको आमसभालाई सम्बोधन पश्चात अध्यक्ष ओलीले नवनिर्मित भवनको उद्घाटन गरेका थिए। सुविधा सम्पन्न ४ तले भवन ८ करोड ४८ लाख ११ हजार ४२० रुपियाँको लागतमा निर्माण भएको हो। भवन निर्माणको जिम्मा श्रेष्ठ महादेव खिम्ती जेभिले पाएको थियो।
२०७७ पुस १७ मा सम्झौता भई २०७९ पुस १६ मा निर्माण सम्पन्न गर्नुपर्ने भए पनि २ पटक म्याद थपगरी प्रशासकीय भवनको निर्माण भएको हो। पछिल्लो थप भएको म्यादअनुसार पुस मसान्तसम्म कार्य सम्पन्न गर्नुपर्ने सम्झौतामा उल्लेख गरिएको नगरपालिकाका इन्जिनियर राजेन्द्र गौतमले जानकारी दिए। भवन निर्माण व्यवसायी हरिकुमार श्रेष्ठलाई अध्यक्ष ओलीले सम्मानपत्र समेत प्रदान गरेका थिए।


