काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालले दुर्गा प्रसाईं नेतृत्वको आन्दोलनमा प्रकाउ परेकाहरूलाई तत्काल रिहा गर्न माग गरेको छ। बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीले यस्तो माग अघि सारेको हो।
हिन्दू राज्य र २० लाख भन्दा कम रकमको ऋण मिनाहा गर्न माग गर्दै प्रसाईं नेतृत्वको समूहले मंसिर ७ गतेदेखि काठमाडौँमा जनप्रदर्शन गरेको थियो। मंसिर ८ गते श्रीनिवास आचार्य, मुनीन्द्र राजभण्डारी, सन्तोष सिल्वाल, पशुपति खड्का, सतिस न्यौपाने, गोकर्ण शाही, आवास खड्कालगायतलाई पक्राउ गरिएको राप्रा नेपालले बताएको छ।
‘हालसम्म थुनामा राखी यातनासहित अमानवीय व्यबहार गरिएकोले निजहरुलाई तत्काल रिहाइ गर्न राप्रपा नेपाल सरकारसँग माग गर्दछ,’ प्रवक्ता वशन्तमान सिंह अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। एनसेल नेपाल सरकारको स्वामित्वमा आउनबाट रोक्नका लागि नयाँ प्रपञ्च रचिएकोसमेत उसको भनाइ छ।
‘कानुन बमोजिमकों प्रकृया अपनाएर कार्वाही अगाडि बढाउन र देशमा भित्रिने वैदेशिक लगानीलाई प्रोत्साहित गराउने एवं भ्रष्टाचारलाई दुरुत्साहन र नियन्त्रण गर्नका साथै उक्त एनसेल प्रकरणको बारेमा सत्यतथ्य के हो यथार्थ विवरण सार्वजनिक गर्न राप्रपा नेपाल सरकारसँग जोडदार माग गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।



