सिन्धुली- सिन्धुली जिल्लामा बनिरहेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सुनकोसी मरिण डाइभर्सन आयोजनाको सुरुङ खन्ने काम सुनकोसी नदी तर्फबाट सुरु भएको छ।
सुनकोसी–मरिण डाईभर्सन आयोजनामा टनेल वोरिङ मेसिन (टिबीएम)ले काम थालेको १४ महिनामा करिब ९.७ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको हो। यो आयोजनामा सुरुङको कुल लम्बाई १३.३ किलोमिटर हुनेछ।
आयोजना अन्तर्गत सुरुङ निर्माण गर्ने चिनियाँ ठेकेदार कम्पनी चाइना ओभरसिज ईन्जिनियरिङ कम्पनीले लक्ष्यभन्दा बढी निर्माणको कार्य गरिरहेको छ। बाँध निर्माणको कार्य पनि पटेल रमण जेभीले अघि बढाएको छ।
सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका लागि सरकारले कुल रकम ४६ अरब रुपैयाँ विनियोजन गरेको मध्य चालु आर्थिक वर्षसम्म करिब ११ अर्ब खर्च भइसकेको जनाएको छ।
सुरुङ निर्माण सँगसँगै आयोजनाको सुनकोसी नदीमा बाँध निर्माणको कार्य पटेल रमण जेभी ठेकेदार कम्पनीबाट अघि बढाइएको छ। ३१ मेगावाट विद्युत उत्पादनका निम्ति आवश्यक पुर्वाधार निर्माणका कार्य पनि सञ्चालन हुन थालेका छन्।
राष्ट्रिय गौरवको आयोजना सुनकोसी-मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निर्माणपछि मधेश प्रदेशका आधा दर्जन जिल्लाका कृषि क्षेत्रमा सिँचाई गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ।
सुनकोसी नदीको ६७ हजार लिटर प्रतिसेकेण्ड पानीलाई उक्त नदीमा बाँध बाधी १३.३ किलोमिटर लामो सुरुङमार्फत मरिण नदीको किनारमा पुर्याइनेछ।
६४ मिटर हेडको सदुपयोग गर्दै विद्युत उत्पादन गरी निस्केको पानी मरिण खोलामा खसालिनेछ।
उक्त पानी बागमती नदी हुँदै बागमती सिँंचाइ योजनाको पूर्वी तथा पश्चिम नहरबाट क्रमशः ७६ हजार ६०० हक्टर र ४५ हजार ४०० हेक्टर गरी जम्मा १,२२,००० हेक्टर जमिनमा वर्षभर सिँचाइ सुविधा पुर्याउने लक्ष्य लिइएको छ।
आयोजना अन्तर्गत सिन्धुलीको खुर्कोटदेखि लगभग २ किलोमिटरमाथि सुनकोसी नदीमा १५८ मिटर लामो ब्यारेज, १५० मिटर लामो डिसेन्डिङ बेसिन, टनेल इन्ट्री पोर्टल, ५.५ मिटर व्यास भएको १३.३ किमिलामो सुरुङ, सर्ज एन्ड स्विच यार्ड, ३१ मेगावाट क्षमताको विद्युत गृह, ४४ किलोमिटर लामो विद्युत प्रशारण लाइन निर्माण गरिने छ।
सुनकोसी मरिण डाइभर्सन आयोजना सुनकोसी नदीको पानी बाग्मती नदीको सहायक नदी मरिन खोलामा स्थानान्तरण गरी रौतहट, धनुषा, महोत्तरी, सर्लाही र बारामा थप १ लाख २२ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा उपलब्ध हुनेछ।














तस्बिरहरू : नेपाल फोटो लाइब्रेरी


