पोखरा- नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले गण्डकी प्रदेशमा राजीव गुरुङ (दीपक मनाङे)लाई मन्त्री बनाउन मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेसँग आग्रह गरेका छन्। गठबन्धनमा भएको सहमति अनुसार गण्डकी प्रदेशमा एकीकृत समाजवादीलाई मन्त्रीमण्डलमा सामेल गराउनुपर्नेमा मुख्यमन्त्री पाण्डेले त्यसमा आलटाल गरिरहेको अध्यक्ष नेपालको आक्रोश थियो।
शनिबार पोखरामा समाजवादी प्रेस संगठन नेपाल जिल्ला कार्यसमिति कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले देशका सात वटै प्रदेशमा आफ्नो पार्टीको तर्फबाट कम्तीमा एक जना भएपनि प्रदेशसभा सदस्य भएकोले सबै प्रदेशको मन्त्रीमण्डलमा आफ्नो पार्टीको सहभागिता अनिवार्य रहेको जिकिर गरेका थिए।
‘गण्डकीमा मात्र होइन सातवटै प्रदेशमा हाम्रो पाटीसँग कम्तिमा एकजना भएपनि प्रदेश सभा सदस्य छन्। प्रत्येक ठाँउमा कमसेकम मन्त्रीमण्डलमा हाम्रो सहभागीता सबै ठाउँमा हुनुपर्छ भन्ने हाम्रो सहमति छ,’ नेपालले थपे, ‘नीति योजना आयोगमा पनि सहमति छ, त्यसैगरी विभिन्न ठाँउमा समितिका सभापतीहरु एक भन्दा बढी छ भने त्यो पनि प्राप्त गर्ने सहमति छ।’
गठबन्धनमा भएको सहमतिलाई गण्डकी प्रदेशका मुख्यमन्त्रीले आलटाल गरेको आरोप उनको थियो। ‘मन्त्रीमण्डलमा सामेल गर्ने (दीपक मनाङेलाई) कुरा कार्यान्वयन भएको छैन। व्यवहारिक रुपमा यहाँका मुख्यमन्त्रीजीले आलटाल गर्दैहुनुहुन्छ, मैले उहाँलाई अस्ति पनि भनिसकेँ तपाईं आलटाल नगर्नुहोस्,’ उनले भने।
राजिव गुरुङ पार्टीप्रति प्रतिवद्ध रहेको दावी नेपालको थियो। ‘उहाँ हाम्रो पार्टी प्रति प्रतिवद्ध हुनुहुन्छ, मैले तुलबहादुर गुरुङ कमरेडलाई के छ राजीव गुरुङ हाम्रो माननीयको बारेमा भनेर सोधें,’ नेपालको भनाइ छ, ‘उहाँले हाम्रो पार्टीप्रति प्रतिबद्ध हुनुहुन्छ भन्नुभयो, उहाँ पार्टीप्रतिवद्ध हुनुहुन्छ भने हाम्रो पनि जिम्मेवारी हो उहाँलाई हाम्रो पार्टीतर्फ मन्त्री बनाउने।’
मुख्यमन्त्री पाण्डेले गठबन्धनमा भएको सहमतीलाई लत्याउदै अन्तिम समयमा राजिव गुरुङलाई मन्त्री नबनाई काँग्रेसका जितप्रकाश आलेलाई मन्त्री बनाएका थिए।
अध्यक्ष नेपालले आफ्नो पार्टी जनहित विपरीत हुनै सबै क्रियाकलापका विरुद्ध रहेको समेत जिकिर गरे।
अध्यक्ष नेपालले सरकारलाई बेथिति र विसंगति अन्त्यकालागि पटक पटक ध्यानकर्षण गराइएको स्मरण गरे। उनले देशमा पछिल्लो समय अराजकतालाई समयमै अन्त्य गरिनुपर्ने बताए। देशको आर्थिक अवस्था सुधारका लागि ठोस कदम चल्न उनले आग्रह गरे।
उत्पादन वृद्धि गर्ने र युवालाई स्वदेशमा नै रहने वातावरण निर्माण गरिनुपर्नेमा उनले जोड दिएका उनले सुशासन र समृद्धिमा ध्यान दिनुपर्ने उल्लेख गरे।
केन्द्रीय, प्रदेश र स्थानीय तहले आफ्नो विकास प्राथमिकता तोकेर त्यही अनुरुप काम गर्नुपर्ने उनको भनाइ थियो। देशको पछिल्लो अवस्था देखेर युवामा छाएको नैराश्यतालाई हटाउने उपाय पनि यही हुने उनको धारणा छ। उद्योग खोलेर जनतालाई रोजगारी दिन पूर्वराजालाई उनको सुझाव थियो।
उनले बालुवाटार निवास प्रकरणबारे राखिएको जिज्ञासामा आक्रोशित हुँदै उनले भने, ‘कोही माइकालालले भनोस् माधव नेपालले भ्रष्टाचार गर्यो भनेर!’
अध्यक्ष नेपालले भ्रष्टाचार भएको भए छानविन गर्न चुनौती दिए। आफू झण्डै दुई वर्ष प्रधानमन्त्री भएको बताउँदै त्यसबेला आँफ्नो प्रधानमन्त्री निवास विस्तारको योजना नै सुनाए। मन्त्रीपरिषद् बैठकको निर्णय नै सुनाएका उनले आफ्नो पालामा कसैलाई जग्गा दिने निर्णय नभएको उनले प्रष्ट पारे।
अनाहकमा आफूलाई देखाएर भ्रष्टाचारको विषयलाई कमजोर नपार्न उनले आग्रह गरे।


