काठमाडौँ- १० दिनदेखि जारी रहेको नेकपा एमालेको मध्यपहाडी यात्रा बागमती प्रवेश गरेको छ। मंसिर १४ गते अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा यात्रारत एमालेको टोली बागमती प्रदेशको धादिङबाट नुवाकोट जिल्ला आइपुगेको हो।
नुवाकोट मध्यपहाडी राजमार्गको विन्दु हो। अर्थात कुल १ हजार ८ सय ७९ किलोमिटर लामो यो राजमार्गको आधा भाग नुवाकोटबाट पूर्व पर्छ भने आधा भाग पश्चितर्फ। अध्यक्ष केपी शर्मा ओलीले आफूहरूले नुवाकोटको बट्टारमा भव्य सभा गरेको जानकारी फेसबुकमा दिएका छन्।
नेकपा एमाले कोशी प्रदेशले भने प्रदेशमा नेकपा एमालेको झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिको लागि संकल्पयात्रा भाँड्ने प्रयत्न नगर्न चेतावनी दिएको छ। शनिबार पार्टीले विराटनगरमा पत्रकार सम्मेलन गरी कार्यक्रममा कुनै पनि अवरोध नगर्न चेतावनी दिएको हो।
‘आज पहिचानका नाममा जुन बन्द हडताल र अवरोध गर्ने खालको प्रयत्न भइरहेको छ, त्यसले मुलुक, जनता र हामी कसैको भलो गर्दैन,’ कोशी प्रदेश प्रचार तथा प्रकाशन विभाग प्रमुख लक्ष्मण तिवारीले हस्ताक्षर गरेको विज्ञप्तिमा लेखिएको छ, ‘यस्ता गतिविधिहरू तत्काल फिर्ता गरी संवाद र छलफलको विधिद्वारा समस्याको समाधानको बाटो खोज्न अपिल गर्दछौँ।’
एमालेले कोशीले कानुनी राज्य, विधिको शासन र संवैधानिक अधिकारको प्रत्याभूति सबैमा संविधानले सुनिश्चितता गरेको स्मरण गराएको छ। कानुनी राज्यमा शान्तिपूर्ण रूपमा विरोध र समर्थन गर्ने अधिकार सबैमा रहेकोप्रति नेकपा एमाले पूर्ण रूपमा सचेत रहेको विज्ञप्तिमा उल्लेख छ। ‘संविधान प्रदत्त अधिकारको उल्लंघन गर्ने र परिस्थितिलाई उत्तेजित बनाउने गतिविधि र क्रियाकलाप नेकपा एमालेलाई किमार्थ स्वीकार्य नहुने जानकारी गराउँदछौँ’, विज्ञप्तिमा लेखिएको छ।
मङ्सिर १४ गते बैतडीको झुलाघाटबाट सुरु भएको अभियान मङ्सिर २६ गते घुर्मीबाट कोशी प्रदेश प्रवेश गर्दैछ। अभियान पुस १ गते पाँचथरको चिवा भञ्ज्याङ पुगेर टुङ्गिने छ।
मध्यपहाडको आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक अवस्था तथा उद्योग, पर्यटन लगायतको सम्भावना बुझ्न एमाले अध्यक्ष ओलीको नेतृत्वमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरू युवराज ज्ञवाली, रामबहादुर थापा, विष्णु पौडेल, सुरेन्द्र पाण्डे, महासचिव शंकर पोखरेल, उपमहासचिव प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ, सचिवहरू, स्थायी कमिटी, पोलिटब्युरो, केन्द्रीय कमिटी सदस्यहरू, प्रदेश कमिटी लगायतका नेताहरू, प्राविधिक, विज्ञ सम्मिलित टोली सहित समृद्धिको लागि संकल्पयात्रामा छन्।


